सम्माननीय राष्ट्रपतिज्यूसमक्ष विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट

आज मिति २०७४ साल जेठ १७ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाज्यू, विपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीज्यू, राप्रपाका अध्यक्ष कमल थापाज्यू तथा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् माननीय उपप्रधानमन्त्री विजयकुमार गच्छदारज्यू, राजपाका नेता राजेन्द्र महतोज्यू लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट भयो । भेटका क्रममा राजनीतिक सहमतिका आधारमा सहमतीय सरकार  गठनको विषयमा छलफल भएको थियो ।   (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

आज मिति २०७४ साल जेठ १४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा दशौं गणतन्त्र दिवस, २०७४ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विभूषण प्रदान

आज मिति २०७४ साल जेठ १४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ५१४ जना महानुभावहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गर्नु भएको छ । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

गणतन्त्र दिवस, २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

आज जेठ १५, दशौँ गणतन्त्र दिवस । लोकतन्त्रको स्थापनाका लागि पटक-पटक भएका आन्दोलन तथा विभिन्न आरोह-अवरोह पार गर्दै गणतन्त्रसम्म आइपुगेको पनि आज नवौँ वर्ष पूरा भएको छ ।दशौँगणतन्त्र दिवसको पावन अवसरमा हाम्रा सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु । सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको Read More …

सम्माननीय राष्ट्रपतिज्यू दशौं गणतन्त्र दिवस, २०७४ का अवसरमा आयोजित जलपान कार्यक्रममा सरीक

आज मिति २०७४ साल जेठ १४ गते आइतबार दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका संसदका सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका विपक्षीदलका नेता एवम् पूर्व प्रधानमन्त्रीज्यू, पूर्व उपराष्ट्रपतिज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीज्यूहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरु लगायत विशिष्ट महानुभावहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथीहरुलाई राष्ट्रपतिको कार्यालयका सचिव श्री भूपेन्द्रप्रसाद पौड्यालले स्वागत गर्नु भएको थियो ।     (प्रल्हाद प्रसाद पुडासैनी) २    सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कोलम्बियाका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल जेठ १२ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित कोलम्बियाका राजदूत H.E. Ms. Monika Lanzetta ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।   (मोहनप्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद्को गठनको लागि राजनीतिक दलहरुलाई आह्वान

आज मिति २०७४ साल जेठ ११ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । (मोहन प्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट लिखित राजीनामा पेश

आज मिति २०७४ साल जेठ १० गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने र वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिज्यूद्वारा सम्माननीय प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । (मोहन प्रसाद वाग्ले) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७४/२/२ को सिफारिस, मन्त्रिपरिषद्को  मिति २०७४/२/४ को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७४/२/४  को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अर्घारजस्थल, अर्घाखाँची निवासी प्रो.डा. चोपलाल भुसाललाई बङ्गलादेशका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) उपसचिव