परिचय

राष्ट्रपतिको कार्यालयको संक्षिप्‍त परिचय

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ (क) मा नेपालमा एक जना राष्ट्रपति रहने संवैधानिक व्यवस्था रहेकोले सोही अनुसार “राष्ट्रपतिको कार्यलाई सहयोग पुर्‍याउनको लागि छुट्टै कार्यालय रहने छ” भन्ने व्यवस्था भएकोले नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०६५/३/३० को निर्णयले तत्कालीन परराष्ट्र मन्त्रालय रहेको शीतलनिवास भवनमा राष्ट्रपतिको कार्यालय रहने व्यवस्था गरियो । संविधानको धारा ३६ (ख) बमोजिम व्यवस्थापिका-संसदबाट निर्वाचित भई सम्वत् २०६५ साल साउन ८ गते सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले सम्माननीय प्रधानन्यायधीश श्री केदारप्रसाद गिरीज्यूसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सोही मितिबाट औपचारिक रूपमा कार्य प्रारम्भ भयो । सोही दिनदेखि औपचारिक रूपमा यस कार्यालयको स्थापना र कार्य सञ्‍चालन प्रारम्भ भएको हो । शुरूका दिनहरूमा परराष्ट्र मन्त्रालय यस भवनबाट पूर्ण रूपमा स्थानान्तरण नभएकोले २०६५ साल साउन देखि २०६६ वैशाख १३ सम्म  ७ वटा कोठाहरूबाट यस कार्यालयको काम सञ्‍चालन गरिएको थियो । २०६६ वैशाख  १४ गते देखि सम्माननीय राष्ट्रपतिज्यूको निवास समेत यसै भवनमा रहने व्यवस्था गरी यस भवन परिसरलाई राष्ट्रपतिको कार्यालयले उपयोग गर्दै आएको छ । सम्माननीय राष्ट्रपतिज्यूको प्रशासनिक सचिवालयको रूपमा स्थापित यस कार्यालयले सम्माननीय राष्ट्रपतिज्यूसंग सम्बन्धित विभिन्‍न कार्यक्रमहरू र समारोहको प्रशासनिक समन्वय, व्यवस्थापन तथा सचिवालयको कार्य संचालन गर्ने गर्दछ ।