परिचय

राष्ट्रपति भवन, शीतलनिवास महाराजगञ्जमा रहेको छ । यो दरबार राणा प्रधानमन्त्री चन्द्रशमसेरले वि.सं. १९८० मा आफ्नी जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्णशमशेरका लागि बनाइदिएका थिए । यो दरबार करिब १४० रोपनी जग्गा भित्र बनेको थियो । वि.सं. १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पबाट यस दरबारको निकै क्षति भएकोले कृष्णशमशेरले यसको मर्मत संहार गरेर आधुनिक तरिकाले निर्माण गर्न लगाएका थिए । पछि कृष्णशमशेरले यो भवन तत्कालिन सरकारलाई हस्तान्तरण गरेका हुन् ।

राणा शासनको अन्त्यपश्चात नेपाल सरकारले यो भवनलाई सरकारी अतिथिगृहको रूपमा प्रयोग गरेको थियो । पछि यसलाई परराष्ट्र मन्त्रालयको लागि समेत प्रयोग गरिएको थियो ।  गणतन्त्रको स्थापनापछि वि.सं. २०६५ साल असार २० को मन्त्रीपरिषद्को निर्णय बमोजिम नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवनमा परिणत गरेको हो । हाल शीतलनिवासमा राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको निवास रहेको छ ।

यो दरबारको डिजाइन बनाउने इन्जिनियर द्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणा हुन् ।