सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘श्रीयन्त्र’ पुस्तक सम्बन्धी कार्यक्रममा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.जगमान गुरूङ,

महेश सन्यास आश्रमका पीठाधीश श्री रमानन्द गिरी,

श्रीयन्त्र पुस्तकका लेखक वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल,

प्रवुद्ध समुदाय,

भद्रमहिला तथा सज्जनवृन्द !

नेपालको राष्ट्रिय झण्डाका वर्तमान स्वरूपको डिजाइनर वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालको अथक प्रयासबाट तयार गरिएको ‘श्रीयन्त्र’ पुस्तकका बारेमा चर्चा हुने यस कार्यक्रममा तपाईँहरूसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । आजको यस पुस्तकका लेखक श्री रिमाललाई हार्दिक बधाई दिँदै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको शुभेच्छा प्रकट गर्दछु । साथै, यस पुस्तकको प्रकाशिका तथा लेखककी धर्मपत्नी श्रीमती शशी रिमाललाई धन्यवाद भन्न चाहन्छु ।

हाम्रो मुलुकका राष्ट्रिय महत्वका सम्पदाहरूको वास्तु डिजाइनर श्री रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना भएको यो कृति समाजका निम्ति महत्वपूर्ण दस्तावेज हो । यस उपर बौद्धिक समुदायमा हुने छलफल र अन्तरक्रियाले लेखकलाई थप प्रेरणा मिल्नेछ भन्ने ठानेको छु ।  पुस्तकाकार रूपमा श्रीयन्त्रको व्याख्या गणितीय रूपमा प्रस्तुत गर्नुभएको यो पुस्तक अध्ययन अनुसन्धानकर्ता एवं जिज्ञासुहरूका लागि सहयोगी सिद्ध हुनेछ । लेखक इन्जिनियर रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इन्जिनियरिङको संयोजन गर्नुभएको मैले पाएको छु ।

हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदाहरूमा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र यस क्षेत्रको एउटा सांस्कृतिक प्रतीकका रूपमा रहेको कुरा महसुस गर्न सकिन्छ । महत्वपूर्ण विषयहरूसँग जोडिएका हाम्रा सम्पदाहरू निर्माणको डिजाइनमा नेपाली संस्कृति र संस्कारको परिचय विश्वस्तरमा प्रवर्द्धन गर्न रिमालजस्ता विद्वान व्यक्तित्व लागि पर्नुले मौलिक वास्तुकलाको महत्व संसारभर उजागर गर्न मद्दत पुग्नेछ ।

विश्वविद्यालयमा ईन्जीनियरिङ्ग विषयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूका लागि उपयोगी सामग्री हुनसक्ने यो पुस्तक साँच्चिनै ठूलो मेहनत र लगावबाट तयार पारिएको छ भन्ने मलाई लागेको छ । हाम्रा सांस्कृतिक धरोहरहरू वास्तुकलाका ज्वलन्त नमुना हुन् । यस पुस्तकमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाणको रूपमा रहेका छन् ।

हाम्रो देश अहिले समृद्धिको यात्रामा रहेकाले भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ तुल्याउन सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्दछ । यसबाट एकातिर भौतिक संरचना बलिया हुन्छन् भने अर्कोतिर हाम्रो विशिष्ट पहिचान विस्तारित गर्न सफलता मिल्नेछ । फलस्वरूप जीवनलाई समृद्धितर्फ अग्रसर गराउन समेत थप सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ ।

अन्तमा, यस्तो वयोवृद्ध उमेरमा पनि जोश जाँगरका साथ पुस्तक तयार पार्नु भएकोमा पुनः बधाई दिँदै भविष्यमा समेत यस किसिमका कीर्तिहरू समाजलाई दिन लेखकलाई सफलता हासिल हुने विश्वास लिएको छु ।

धन्यवाद ।

२०७८ साल वैशाख १० गते शनिबार ।

राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ