सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल औषधि उत्पादक संघद्वारा आयोजित नेपाल फर्मा एक्स्पो–२०२२ को उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

नेपाल औषधि उत्पादक संघका अध्यक्ष लगायत संघ परिवार,

नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्षहरू,

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष,

राष्ट्रसेवकहरू,

विभिन्न मुलुकबाट प्रदर्शनीमा सहभागी हुनुभएका विज्ञ तथा व्यवसायीहरू,

सञ्चारकर्मीहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

नेपाल औषधि उत्पादक व्यवसायी संघद्वारा आयोजित यस कार्यक्रममा सहभागी भई तपार्इँहरूसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ ।

औषधि उत्पादनका क्षेत्रमा हासिल भएको प्रगति, प्रयोग गरिएको नविनतम् प्रविधि तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजित यस फर्मा एक्स्पोको सराहना गर्दै सफलताको शुभकामना दिन चाहन्छु ।

मुलुकको सामाजिक एवं आर्थिक जीवनमा औषधि उत्पादन उद्योगले बहुआयामिक प्रभाव पारिरहेको हुन्छ । मानव जीवनसँग प्रत्यक्ष रूपले र तत्कालै जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय समेत हो । त्यसैले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पुर्‍याउनु पर्दछ ।

सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ । त्यसकारण सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन हुन सकेमा हाम्रो संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने मलाई लागेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी, उत्पादन र वितरण प्रणालीलाई ठूलो चुनौती दिएको छ । विश्वव्यापीकरणको प्रक्रिया तीब्र बनिरहेको वर्तमान परिस्थितिमा महामारीको रोकथाम, नियन्त्रण र उपचारमा एउटा देशको प्रयास मात्र पर्याप्त हुँदैन । रोगको नियन्त्रण र उपचारका लागि मुलुकहरूबीच आपसी सहयोग र सहकार्य आवश्यक भएजस्तै औषधि उत्पादनको क्षेत्रमा समेत विश्वका राष्ट्रहरूबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नुपर्दछ । त्यसैले, समग्र मानव स्वास्थ्यको लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनु पर्ने टड्कारो आवश्यकता रहेको छ । औषधि तथा स्वास्थ्य सामग्रीको समतामूलक वितरणका लागि स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने खाँचो रहेको मैले महसुस गरेको छु ।

जीवनशैलीमा आएको परिवर्तन, शुद्ध र स्वस्थ खानाको अभाव तथा बढ्दो प्रदूषणका कारण नसर्ने रोगहरूले ठूलो जनसंख्यालाई गाँज्दै लगेकाले पनि औषधि विज्ञानका क्षेत्रमा धेरै लगानी आवश्यक देखिएको छ । यस प्रकारका प्रदर्शनीहरूले त्यसतर्फ अगाडि बढ्न राज्य, निजी क्षेत्र र सामुदायलाई प्रेरणा प्रदान गर्ने मैले विश्वास लिएको छु ।

राष्ट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको छ । स्वास्थ्य सामग्री र औषधिको आवश्यकता अत्याधिक हुँदै जाँदा आयात वृद्धि भई मुलुकको व्यापार घाटामा थप चाप परिरहेको छ । औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा लैजान स्वदेशमा भएका जडिबूटीको व्यवसायिक खेती गरी कतिपय औषधिका लागि चाहिने कच्चा पदार्थको आयातलाई पनि प्रतिस्थापन गर्न सकिन्छ । निजी क्षेत्रले ठूलो लगानीसहित औषधि उत्पादनमा आत्मनिर्भर बन्ने संकल्प गरेको सन्दर्भमा औषधि उद्योग फष्टाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पुर्‍याउनु पर्दछ ।

औषधि उत्पादनका क्षेत्रमा विश्वभरि निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भैरहेको हुन्छ । विज्ञान तथा प्रविधिको गतिसँगै आफूलाई अद्यावधिक राख्न सकेमात्र हाम्रा उद्योगहरूको प्रतिस्पर्धी क्षमता सुदृढ हुनेछ । मुलुकमा औषधि उद्योगको विकासबाट वर्षेनी हजारौँको संख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी उपलब्ध हुने र प्रतिभा पलायनको समस्यालाई समेत न्यूनीकरण सकिन्छ भन्ने मलाई लागेको छ ।

अन्य उद्योगहरूको सापेक्षतामा औषधि उत्पादन व्यवसायको सामाजिक, प्राविधिक एवं राष्ट्रिय दायित्व बहुआयामिक तथा संवेदनशील हुन्छ । यस यथार्थलाई मनन् गरी औषधि उत्पादन तथा ‍औ‍षधिको आयात—निर्यातसम्बन्धी नीति एवं कानुनहरूमा समयानुकूल सुधारको आवश्यतालाई आत्मसात गर्न सम्बन्धित निकाय सक्षम हुने विश्वास लिएको छु ।

नेपाली औषधि उत्पादकहरूले विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्दै हाम्रो समग्र उपभोगमध्ये झण्डै आधा औषधि स्वदेशमै उत्पादन गरिरहेको र हालैका वर्षहरूमा नेपाली औषधिको निर्यात समेत हुन थालेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

अन्तमा, नेपाली औषधि उद्योग क्षेत्रको औद्योगिक मेलाको रूपमा आयोजित प्रदर्शनीको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

२०७९ साल वैशाख ९ गते शुक्रबार ।

 

भरतपुर, चितवन