सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवौं भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

नवौं भूकम्प स्मृति दिवसको  सन्देश

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपायहरू र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी छ । म यसका लागि सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउन चाहन्छु ।

नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको छ । यसरी पुननिर्मित भौतिक संरचनाहरूमा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिकोसमेत प्रयोग गरिएकोमा मलाई खुसी लागेको छ । पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यहरूमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा,यो प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी र चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न र प्रभावकारी रूपमा प्रतिकार्य गर्न सकिने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८१ वैशाख, १२ गते बुधबार ।