सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल जनप्रशासन संघद्वारा हेमबहादुर मल्ल स्मृति सम्मान, २०७६ वितरण समारोहमा गर्नुभएको सम्बोधन

नेपाल जनप्रशासन संघका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरू,

आज सम्मानित हुनुभएका श्री सूर्यनाथ उपाध्याय,

यहाँ उपस्थित राष्ट्रसेवकहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक व्यक्तित्व र अनुभवी प्रशासक आवद्ध नेपाल जनप्रशासन संघद्वारा आयोजित सम्मान कार्यक्रममा प्रवुद्ध समुदायसँग अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ ।

हाम्रो देशका पूर्व प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा स्थापित पुरस्कारबाट आज पुरस्कृत हुनुभएका पूर्व वरिष्ठ प्रशासक श्री सूर्यनाथ उपाध्यायलाई बधाई दिँदै उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दछु । मलाई आशा छ, श्री उपाध्यायको अनुभव र योदानबाट समाज सेवाका विभिन्न क्षेत्रहरूमा क्रियाशील राष्ट्रसेवकहरूले प्रेरणा लिनु हुनेछ ।

श्री उपाध्यायले सरकारी सेवामा रहँदा तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्तो संवैधानिक निकायमा प्रमुख हुँदा आफ्नो कर्तव्य इमान्दारी र कुशलतापूर्वक निर्वाध गर्नु भएको विषय म स्मरण गर्न चाहन्छु । उहाँको कार्यकालमा आयोगको संस्थागत विश्वसनीयता अभिवृद्धि गर्नुभएको योगदान उल्लेखनीय छ ।

राज्यका विभिन्न अङ्ग तथा निकायमा सक्रिय व्यक्तित्व बिच हुने पेशागत तथा व्यवसायिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा व्यवसायिक पृष्ठपोषण गर्न सकिन्छ । यस समुदायले हासिल गरेको ज्ञान, सीप र पेशागत दक्षता साझा गर्न आपसी अन्तरक्रिया र छलफल जरुरी हुने भएकाले नै संघको स्थापना भएको हो भन्ने मैले महसुस गरेको छु ।

निर्धारित लक्ष्यबाट विचलित नभई विभिन्न रचनात्मक क्रियाकलापहरूद्वारा समाजलाई लाभान्वित तुल्याउन सदाझैँ संघलाई सफलता मिलोस् भन्ने शुभेच्छा प्रकट गर्दछु । यस संघले विभिन्न विधाहरूमा गरेका छलफल तथा गोष्ठीबाट निकालेका उपयोगी निष्कर्षहरूलाई नेपाल सरकार एवं सम्वन्धित निकायहरूबाट आत्मसात गरिएकै होला भन्ने ठानेको छु ।

महत्वपूर्ण राजनीतिक परिवर्तनपछि मुलुक सामाजिक आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर भएको सर्वविदितै छ । यस बीचमा विनाशकारी भूकम्प र पछिल्लो समय कोभिड–१९ को महामारीले हाम्रो अर्थतन्त्रका विभिन्न आयामहरूलाई अवरोध सिर्जना गरेको यथार्थ महसुस भएकै विषय हो । भूकम्पले क्षति पुर्‍याएका सम्पदा र संरचना प्रायः पुनर्निर्माण भइसकेका र कोरोना महामारी पनि कमजोर बन्दै गएकाले अब अर्थतन्त्र सुदृढीकरणको प्रक्रियालाई तीब्र पार्नु पर्दछ । विकासको गतिलाई प्रभावकारी तुल्याउन सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउँदै भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्न सम्बद्ध सबै पक्षले ध्यान दिनु पर्दछ । यसका लागि जनप्रशासन संघजस्ता संस्थाहरूको भूमिका प्रभावकारी हुनसक्दछ भन्ने मैले ठानेको छु ।

समुन्नत राष्ट्र बनाउने संकल्प गरिरहँदा हामीसँग उपलब्ध प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा ध्यान पुग्नु पर्दछ भन्ने मलाई लागेको छ । यसका लागि कृषिलाई आधुनिकीकरण तथा व्यवासायीकरण, जलसम्पदाको सदुयोग गर्दै विद्युत उत्पादन, सिँचाईको व्यवस्था तथा पर्यटन प्रवद्र्धन र आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन ध्यान दिनु पर्दछ ।  गुणस्तरीय शिक्षा तथा सुदृढ स्वास्थ्य पूर्वाधारको विकास गरी सक्षम र स्वस्थ जनशक्ति उत्पादन गर्न राज्य सधैँ लागिपर्नु पर्दछ । यही मानव संशाधनले नै विकासका हरेक क्रियाकलापहरूमा सक्रिय बन्दै स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न ठोस योगदान पुर्‍याउन सक्दछ । त्यसैले विद्यालय तहदेखि उच्च तहसम्मको शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र रोजगारमूलक बनाउन अब ढिला गर्नु हुन्न । यसका लागि शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउनका लागि तपाइँहरूजस्ता प्रवुद्ध समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मलाई लागेको छ ।

अन्तमा, पुरस्कार छनोट समितिका संयोजक लगायत सबैलाई धन्यवाद दिँदै कार्यक्रमको आयोजक संस्थालाई आफ्नो सही लक्ष्यमा अग्रसर हुन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल वैशाख ११ गते आइतबार ।

राष्ट्रपति भवन, महाराजगञ्ज