सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यूबाट भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले  भेट गर्नु भयो । उक्त भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले मुलुकमा हालैको अविरल वर्षाका कारण उत्पन्न वाढी पहिरोबाट भएको जनधनको क्षती र प्राकृतिक प्रकोपसँग जुध्न सरकारले गरेको तयारी बारे जानकारी दिनुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले  वाढी पहिरोबाट भएको जनधनको ठुलो क्षतिप्रति आफू अत्यन्त दुःखित भएको तथा शोक सन्तप्त परिवारप्रति भाव पूर्ण समवेदना र सहानुभुति व्यक्त गर्नु भयो ।

सम्माननीय राष्ट्रपतिज्यूले  सम्माननीय प्रधानमन्त्रीज्यूलाई वाढी पहिरो र यसबाट विशेषत मुलुकमा आउन सक्ने खाद्य संकटको समस्या, पिउने पानीको अशुद्धता तथा जलमा सडी गली रहेका वस्तुका कारण आउन सक्ने महामारी लगायतका समस्या समाधान गर्न यथोचित ध्यान पुर्‍याउन तथा सरकारी निकायका साथै सामाजिक संघ संस्था एवम् निजीक्षेत्र समेतलाई यथोचित रुपमा परिचालन गरी विपतको अवस्थाबाट सर्वसाधारण जनतालाई तत्काल उद्धार एवम् राहतका लागि आग्रह गर्नु भयो ।

त्यसै गरी सम्माननीय राष्ट्रपतिज्यूले मुलुकको संवेदनशील भौगोलिक अवस्थितिका कारण नदी प्रणालीलाई व्यवस्थित गरी यस्ता प्राकृतिक प्रकोपको निराकरण गर्न सरकारले शिघ्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनु पर्ने तर्फ ध्यानाकर्षण गराउनु भयो ।

 

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता