सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।

नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी  बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ । संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयहरूमा उल्लेख्य कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी हो  । बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व हो  ।

विश्‍वव्यापी महामारी कोभिड-१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएको छ । अझ देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनु परेको अवस्था छ ।  १८ वर्षमुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू संक्रमणको जोखिममा रहेका छन् । तसर्थ, बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन म सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।

बालबालिकाको भविष्य सुनिश्‍चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक संघ-संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनु भएको भूमिकाका लागि सबैमा धन्यवाद दिंदै पुनः राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ भदौ २९ गते‚ मङ्गलबार ।