सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल बाल संगठनद्वारा बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

आज राष्ट्रिय बाल दिवस ! यस अवसरमा म समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको महत्त्वपूर्ण दिनमा राष्ट्रपति भवनमा बालबालिकासँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ ।

आजका बालबालिकाहरू भविष्यका जिम्मेवार नागरिक हुन् । हरेक बालबालिकामा हुने जिज्ञासुपनले उनीहरूको सृजनात्मक क्षमता विकास गर्न मद्दत पुर्‍याउँछ । तसर्थ परिवार, विद्यालय, समुदाय, सामाजिक संघसंस्था तथा राज्यले बाल संरक्षण, बाल बचाउ, बाल विकास तथा बाल सहभागिताका विषयलाई प्रवर्द्धन गर्न संवेदनशील हुनुपर्दछ भन्ने मलाई लागेको छ ।

सिर्जनशील बालबालिका नै हाम्रो मुलुकको भविष्यका लागि आशाका किरण हुन् । करिब डेढ वर्षदेखि हाम्रो मुलुक पनि कोभिड–१९ को विश्वव्यापी महामारीबाट प्रभावित भएको छ । यसबाट बालबालिकाको दैनिक जीवनमा ठूलो असर परेको छ । विद्यालयमा उपस्थित भएर हुने नियमित पठनपाठन अवरुद्ध भएको छ । सूचना प्रविधिको पहुँच नपुगेका कारण धेरै बालबालिकाहरू अनलाइन कक्षाबाट समेत बञ्चित हुनु परेको अवस्था छ । तसर्थ, बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै स्वास्थ्य, शिक्षा, मनोरञ्जन सहितका बालअधिकारको संरक्षणमा सबैले सकारात्मक योगदान गर्नुपर्दछ ।

यस परिस्थितिलाई मध्यनजर गरी राष्ट्रिय बाल दिवसका सन्दर्भमा तय भएको ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने आव्हान र संकल्प सान्दर्भिक छ । यसलाई सम्बद्ध सबै पक्षले मनन गर्दै प्रभावकारी कार्यक्रमसहित बालबालिकाको हितमा अग्रसर रहनु पर्दछ ।

बालअधिकारका सम्बन्धमा राज्यको दायित्व तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्न नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसलाई आत्मसात गर्दै बालबालिकासम्बन्धी ऐन, २०७५ लगायत विभिन्न नीतिगत व्यवस्था गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयहरूमा उल्लेख्य कार्यहरू हुँदै आएका छन् ।

नेपाल सरकारले संघ, प्रदेश तथा स्थानीय तहमा सञ्चालन गर्दै आएका विभिन्न प्रयासहरू जस्तैः सडक बालबालिका मुक्त राष्ट्र अभियान,  बाल हेल्पलाइन सेवा केन्द्र दश नौ आठ (१०९८ ), बालबालिका खोजतलास केन्द्र, बाल कोष, कोभिड–१९ को सम्भावित तेस्रो लहरबाट बालबालिकालाई बचाउन अस्पतालमा शैयाको व्यवस्था, विभिन्न जनचेतनामूलक कार्यक्रमलाई थप व्यवस्थित गर्नु पर्दछ । नियमित रुपमा उपलब्ध गराउनु पर्ने विभिन्न खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप लगाउन पहल भइरहेको छ ।

बाल शिक्षालाई सुदृढ तुल्याउन देशभर प्रारम्भिक बाल विकास कार्यक्रम, बालमैत्री गाउँ र शहर घोषणा, विद्यालयमा दिवा खाजाको व्यवस्था, सरकारी तथा निजी सञ्चार माध्यमबाट बाल कार्यक्रमको प्रसारण तथा बाल पत्रिकाहरू प्रकाशन भइरहेका छन् । नेपाल सरकारले नीति तथा कार्यक्रम एवं बजेटमा बाल प्रज्ञा प्रतिष्ठानको अवधारणा अगाडि सारेको छ । मातृशिशु कल्याण कार्यक्रमलाई सुदृढ तुल्याएर आमा तथा बच्चाको स्वास्थ्य र पोषणमा जोड दिनु पर्दछ । आजको अवसरमा बालबालिकाको समग्र विकासका लागि सबै प्रकारका विभेद तथा बाल हिंसालाई समाप्त पार्दै बालमैत्री, सभ्य र न्यायपूर्ण समाज निर्माणमा योगदान गर्न सबैमा हार्दिक आव्हान गर्दछु ।

नेपाल बाल संगठनले आवश्यकता परेका बालबालिकाहरूको पहिचान गरी देशभर रहेका बालमन्दिर मार्फत अभिभावकत्व र संरक्षण प्रदान गर्दै आएको छ । बालअधिकारका मूलभूत मान्यताहरूलाई आत्मसात गर्दै बालकल्याणका क्षेत्रमा राष्ट्रव्यापी सञ्जालसहित महत्त्वपूर्ण कार्य गर्दै आएको यस अग्रणी संस्थाको भौतिक पूर्वाधार तथा जनशक्ति विकासका लागि सम्बन्धित सबै पक्षले ध्यान पुर्‍याउनु पर्दछ ।

अनुशासन र मिहिनेत व्यक्तित्व विकासका अनिवार्य आधार हुन् । व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाहरूले सधैँ पढाई र रुचीअनुसारका अतिरिक्त क्रियाकलापमा ध्यान दिनु पर्दछ भन्ने मलाई लागेको छ ।

यस वर्षको बाल दिवसका अवसरमा आयोजित विविध रचनात्मक क्रियाकलापमा सहभागी भई आज पुरस्कृत एवं सम्मानित हुने सबै भाइबहिनीहरू बधाईका पात्र छन् । भविष्यमा समेत यस प्रकारका सिर्जनात्मक कार्यमा संलग्न हुन आजको दिनले प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै सबैमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७८ साल भाद्र २९ गते मंगबलबार ।