सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभिन्न विश्वविद्यालयहरूका कुलपति¸उपकुलपति तथा पदाधिकारीहरूसँग भेटघाटको अवसरमा दिनुभएको मन्तव्य

राष्ट्रपतिभवन¸महाराजगञ्ज¸काठमाडौँ ।

हाम्रो देशका विश्वविद्यालयका कुलपति¸उपकुलपति तथा पदाधिकारीहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

उच्च शिक्षा र अनुसन्धानमूलक शिक्षामा नेतृत्वदायी भूमिका खेल्ने विश्वविद्यालयहरूले शिक्षाका माध्यमबाट राष्ट्रको समृद्धि र सुखमा पुर्‍याउन सक्ने योगदानका बारेमा जति चर्चा गरेपनि कमै हुन्छ ।

आजको यस महत्वपूर्ण अवसरमा नेपालको व्यापार घाटाको अवस्थाका बारेमा भरखरै प्रस्तुतीकरण भएको छ । हामीले सिमित उत्पादन र विप्रेषणका माध्यमबाट आर्जन गरेको विदेशी मुद्राले हाम्रो उपभोगको अवस्थालाई धान्न नसकेको यसबाट पुष्टि हुन्छ ।

विश्वविद्यालयमा हुने अध्ययन अध्यापनको विशाल समुद्रमा व्यापार घाटाको विषय एउटा शीतविन्दु जस्तो मात्रै हो । तर यसले आज हाम्रो मुलुकले सामना गरिरहेको ठूलो समस्यालाई चित्रण गर्दछ । विश्वविद्यालयमा हुने पठनपाठनका क्षेत्रमा विश्वभरिकै सैद्धान्तिक ज्ञानहरूको अध्ययन र अनुसन्धान हुनु पर्दछ । त्यत्तिकै जोड हामीले आज भोगिरहेका समस्याको समाधानमा पनि दिनु पर्दछ ।

विश्वविद्यालयहरूमा प्लेटो¸ एरिस्टोटल¸ कौटिल्य¸ कन्फ्युसियस वा बुद्धका सिद्धान्त र दर्शनबारे अध्ययन हुनु पर्दछ भन्ने विषयमा दुईमत छैन । त्यसैगरी हाम्रो जीवन र जगतलाई बुझ्ने प्रचीनदेखि आधुनिक समयसम्मका सैद्धान्तिक दार्शनिक मान्यताका बारेमा पनि अध्ययन हुनु पर्दछ । हामीले त्यत्तिकै जोड दिनु पर्ने विषय के छ भने¸ती सिद्धान्तहरूको विकासबाट आज हाम्रा सामुन्ने उपस्थित व्यावहारिक चुनौतिहरूको सामना गर्न सक्षम जनशक्ति तयार गर्न विश्वविद्यालयकै भूमिका रहन्छ भन्नेमा पनि मतैक्यता हुनुपर्दछ ।

अनुसन्धानमूलक शिक्षा भन्नुको तात्पर्य व्यक्ति¸समाज र राष्ट्रको जीवनमा आउने समस्याहरूको समाधान गर्ने सीप हासिल गर्नु भन्ने बुझिन्छ । अर्थात्¸शिक्षालाई जीवनका समस्या समाधान गर्ने माध्यमका रूपमा लिनु पर्दछ । व्यक्ति¸ समाज र राष्ट्रको जीवनमा आउने समस्याहरू समाधान गर्न नयाँ विचार र उपायको खोजी भइरहनु पर्दछ ।

उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनु पर्दछ । विश्वविद्यालयहरूले निरन्तर शैक्षिक जनशक्ति उत्पादन गरिरहेकै छन् । समाज र राष्ट्रको आवश्यकता पूरा गर्न त्यो जनशक्तिले कुनै न कुनै रूपमा योगदान गरिरहेकै छ । यद्यपि आवश्यकता र उत्पादन बीचमा सामन्जस्यको अभाव पनि देखिँदै गएको छ । विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्याहरू पनि रूपान्तरण भइरहेका छन् । परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनु पर्ने चुनौति हामी समक्ष उभिएको छ । समयको यस रूपान्तरणकारी गतिलाई ‍पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्नेछ ।

राष्ट्रपति भवनमा मैले विभिन्न क्षेत्रका विद्वान विदुषीहरूसँग अन्तरक्रिया गर्दै आएको छु । हालसालै मैले इतिहास¸संस्कृति र पुरातत्वका विद्वानहरूसँग भेट गरेँ । हाम्रा विश्वविद्यालयमा यी विषयको अध्ययन अध्यापन भइरहेको भएता पनि प्राचीनकालका शिलापत्र¸ताम्रपत्र वा अभिलेखहरू अध्ययन गर्नसक्ने जनशक्ति असाध्यै कम रहेको र थप उत्पादन नहुने हो भने निकट भविष्यमै यो क्षेत्रमा जनशक्तिको पूर्ण  अभाव हुने कुराले मलाई चिन्तित तुल्याएको छ ।

अध्ययनको एक क्षेत्रको मात्रै सवाल होइन । हाम्रो मुलुक प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न हुँदाहुँदै पनि उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा भरखरै हामीले चर्चा गरेको व्यापार घाटाको विषयदेखि आज हामीले भोगिरहेको जलवायु परिवर्तन सम्मका मुद्दाले एक पछि अर्को चुनौति थप्नुका साथै नयाँ विज्ञ जनशक्तिको माग गरिरहेका छन् । पूर्वाधारको क्षेत्रमा नेपालले सुरुङ मार्ग र रेल मार्ग निर्माण गरिरहेको छ । जल यातायातका सम्भावना पहिचान भएका छन् । तराईदेखि हिमालसम्मको जैविक विविधता तथा जल¸जङ्गल¸जडिबूटी जस्ता प्राकृतिक स्रोतबाट उपलब्ध हुने सम्भावनालाई वातावरणमैत्री प्रविधिको विकासबाट मुलुक र जनताको हितमा उपयोग गर्नु पर्ने अवस्था छ । यसका निम्ति आवश्यक जनशक्ति तयार पार्ने संस्थाहरू विश्वविद्यालयहरू नै हुन् ।

प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिले ज्ञान उत्पादनमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश यहिँबाट फैलाए । इतिहास¸गणित र पूरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदुषिहरू यही भूमिले जन्माएको छ । इतिहास र सभ्यताको यस विरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयहरूले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नु पर्दछ ।  आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहहरूको बिचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीहरू सँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी देखिन्छ ।

राष्ट्रको जीवनमा आउने आवश्यकताको बारेमा मैले यसअघि थोरै चर्चा गरेँ । राज्यले हरेक वर्ष आफ्ना नीति र कार्यक्रमहरू बनाउँछ । देशको विकासका लागि नयाँ रणानीतिहरू तर्जूमा गरी लागू गर्दछ । सामाजिक आर्थिक विकास प्रक्रियालाई तीब्रता दिइरहँदा राष्ट्रिय सुरक्षा, देशप्रेम र राष्ट्रियताको भावनालाई अभिवृद्धि गर्ने विषयमा विश्वविद्यालयहरूले ठोस योगदान गर्न सक्दछन् ।  यसका लागि सरकारका नीति निर्णय गर्ने निकाय र विश्वविद्यालयका बीचमा समन्वय र सहकार्य आवश्यक छ ।

यस आवश्यकतालाई मध्यनजर गरी मुलुकको शिक्षा प्रणाली समयानुकूल बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरू क्रियाशील हुनु पर्दछ । परम्परागत पद्दतिका कतिपय राम्रा पक्षलाई जगेर्ना गर्दै नवप्रवर्तन र प्रविधिमैत्री आधुनिक शिक्षा प्रणाणीतर्फ विश्वविद्यालयहरू अग्रसर हुनु पर्दछ । पाठ्यक्रममा समयानुकूल सुधार गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयहरूले जोड दिनु पर्दछ । यसका साथै विश्वविद्यालयका प्राध्यापकहरूलाई अध्ययन अध्यापन र अनुसन्धानमा उत्प्रेरित गर्न वृत्ति विकासको व्यवस्था गर्नु पर्दछ ।

राज्यले शिक्षामा लगानी बढाउनु पर्छ भन्ने विषयमा आम सहमति नै भएको मलाई लाग्दछ । शिक्षामा लगानी बढाउनु भनेको युवामा लगानी बढाउनु हो¸जसले भविष्यमा मुलुकको नेतृत्व र जिम्मेवारी बहन गर्ने छन् । त्यसैले राज्यले प्रत्येक वर्षको बजेट तर्जूमा गर्दा उच्च शिक्षा, अनुसन्धान तथा विकासमा पर्याप्त बजेट विनियोजन गर्नु पर्दछ ।

मुलुकमा विश्वविद्यालयहरूको सङ्ख्या बढिरहेको सन्दर्भमा विश्वविद्यालयहरू बीच आवश्यक समन्वय र सहकार्य अभिवृद्धि हुन सके प्राज्ञिक उन्नयनमा मद्दत पुग्दछ भन्ने मलाई लागेको छ । उच्च शिक्षाका आधारका रूपमा रहेका विद्यालय शिक्षाको गुणस्तर बढाउनका लागि समेत विश्वविद्यालयहरूको भूमिका हुनु पर्दछ ।

राज्यबाट विश्वविद्यालयहरूलाई उपलब्ध गराइएको वा स्वआर्जित भौतिक स्रोत साधनहरूको सदुपयोग हुनु पर्दछ । भवन तथा भौतिक संरचनाहरूको नियमित मर्मत सम्भार गर्न¸ अतिक्रमणबाट जोगाउन र समग्र प्राज्ञिक परिसरलाई आकर्षक स्थल बनाई राख्न विश्वविद्यालयका नेतृत्वले अग्रसरता लिनु पर्दछ र यसका लागि नेपाल सरकारले सदैव सहयोगी भूमिका खेल्नु पर्दछ । पुस्तकालय तथा प्रयोगशालाको निर्माण र समयानुकूल अद्यावधिक गराउने विषय प्राथमिकतामा रहनु पर्दछ । मुलुकका समसामयिक विषयमा विश्वविद्यालयका प्राध्यापकहरूलाई आफ्ना विषय विज्ञताका आधारमा सार्वजनिक बहस¸छलफल तथा अन्तर्क्रियामा सहभागी गराउन र दृष्टिकोण प्रस्तुत गर्न सम्बद्ध सबैले वातावरण बनाउनु पर्दछ । विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई उच्च प्राथमिकता दिएर विश्वविद्यालय र प्राध्यापकहरूको प्रतिष्ठालाई माथि उठाउन सबैले ध्यान दिनु पर्दछ ।

नेपाल प्राचीनकालदेखि नै ज्ञानभूमिका रूपमा रहेता पनि हाम्रो आधुनिक उच्च शिक्षाको इतिहास धेरै लामो छैन । सबैभन्दा अग्रणी त्रिभुवन विश्वविद्यालयको स्थापना नै वि.सं. २०१६ मा मात्रै भएको हो । त्यसपछिका दशकमा नेपालको शिक्षा क्षेत्रले निकै ठूलो फड्को मारेको मान्न सकिन्छ । वर्तमान समयमा विश्वविद्यालयहरूको सङ्ख्या र अध्यापनका विषयमा  समेत विविधता थपिएको
छ । प्रत्येक वर्ष लाखौँ विद्यार्थीहरूले विद्यालय शिक्षा पूरा गर्दछन् भने त्यसको ठूलो हिस्सा विश्वविद्यालय प्रवेश गर्दछ । तथापि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम पनि उत्तिकै छ । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूले आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमै सदुपयोग गर्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

आजको यस भेटघाटमा मैले तपाईँहरूका कुरा ध्यानपूर्वक सुनेको छु । उच्च शिक्षालाई समुदाय, उत्पादन र नवप्रवर्तनसँग जोड्ने सोच र अग्रसरता विश्वविद्यालयहरूले लिएको जान्न पाउँदा मलाई खुसी लागेको छ ।  यस प्रकारका अन्तरक्रियाहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्दछ । तपाईहरूले दिनु भएका सुझावहरू सम्बन्धित निकायले ग्रहण गर्ने नै छ । व्यस्तताका बीच पनि हाम्रो आमन्त्रणलाई स्वीकार गरेर उपस्थित हुनु भएकोमा सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

२०७८ साल भाद्र २७ गते आइतबार ।