सम्माननीय राष्ट्रपतिज्यूले स्थानीय तहको निर्वाचनका अवसरमा आम मतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु ।

देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गते भित्र सम्पन्न हुनुपर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुट्‌किलो भएकोले यसको आफ्नै महत्व रहेको छ । साथै, यस निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराइ स्थायित्व र आर्थिक सम्बृद्धिको ढोका खोल्ने छ भन्ने मलाइ विश्वास छ ।

लामो समयपछि हुन गइरहेको यो स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।

धन्यवाद !

२०७४ साल बैशाख ३१ गते आइतबार ।