विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सन्देश दिनुभएको छ । उक्त सन्देशको व्यहोरा देहाय वमोजिम छ ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९७ औजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल प्राचीन कालदेखि स्वतन्त्र राष्ट्रको रूपमा विश्वमानचित्रमा अङ्कित रहेको बताउनु हुँदै हाम्रा पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको हो भन्नुभएको छ । यो देश एकीकरण हुनुपूर्व स-साना टुक्रामा विभक्त थियो । एकीकृत नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन । स्वतन्त्र राष्ट्रको रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि संभव थिएन । त्यस बेला छरिएर रहेका राज्यहरूलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा सङ्गठित रूपमै एकीकरण अभियान सुरु भयो र अथक प्रयासपछि त्यो महाअभियानका रूपमा सफल भयो ।

सम्माननीय राष्ट्रपतिज्यूले नेपाल एकीकरण अभियानका सूत्रधार र नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाउनु भयो । यो मुलुक सबै जातको फूलबारीको रूपमा रहेको आत्मसात गर्दै हाम्रो समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा उहाँबाट उसैबेला व्यक्त भएको थियो । यसैगरी अर्थतन्त्र सुदृढीकरणका लागि सुशासन अपरिहार्य रहेको मनन् गर्दै घुस दिने र लिने दुबै देशका शत्रु हुन् भन्ने धारणा राख्नुभएको थियो । देशको भूराजनीतिक अवस्थालाई प्रतिविम्बित गर्न यो राज्य दुई ढुङ्गाबीचको तरुल हो भनेर ‌औँल्याउनु भयो । जनचाहना बुझ्न सिपालु, जनइच्छालाई सर्वोपरी ठान्ने पृथ्वीनारायण शाहका यी जीवन्त दष्टिकोणहरू मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको सामयिक दृढ संकल्प पूरा गर्नका लागि समेत प्रेरणादायी हुने कुरा सम्माननीय राष्ट्रपतिज्यूले व्यक्त गर्नुभएको छ