सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी पर्व, २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

हाम्रो देश नेपालका विभिन्‍न समुदायले माघ १ गते आ-आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघीले परिचित महत्वपूर्ण चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

यो सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन साथै मिष्ठान्‍न भोजन गर्दै मनाउने प्रचलन रहिआएको छ । थारु समुदायमा मनाइने माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइन्छ । यस पर्वले हाम्रो समाजका विभिन्‍न जातजातिबीच आपसी मेलमिलाप अभिबृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्‍वास मैले लिएको छु । विशिष्ट साँस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्‍वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हाम्रा पर्वहरूले भौगोलिक, साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य  योगदान पुर्‍याएको मैले विश्‍वास लिएको छु ।

अन्तमा, विभिन्‍न साँस्कृतिक समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुर्‍याउने विश्‍वास व्यक्त गर्दछु ।

धन्यवाद !

२०७५ माघ १ गते, मङ्गलबार