सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८१ सालको शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८१ को शुभकामना सन्देश

नव वर्ष २०८१ सालको सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

नव वर्षलाई विगतको समीक्षा गर्ने तथा भविष्यमा गरिने कार्यहरूको योजना बनाउने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौं। तसर्थ, नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। हामीले यस अघि थाँती राखेका योजनाहरूलाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिहरूमा जुट्न म सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्दछु।

मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रीत हुनुपर्छ। ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न रोजगारी र अवसरहरूको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाई गरिनु हुँदैन। जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य‚ कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म संघीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु।

हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न यहाँका आन्तरिक स्रोतहरू मानव संसाधन, उर्वरभूमी, जलसम्पदा, वनजङ्गल र जैविक विविधतालाई सदुपयोग गर्दै विकासको प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाई दिगो विकासको लक्ष्य हासिल गर्न अग्रसर हुनु हाम्रो मुख्य दायित्व हो।

हामी आफैंले कबूल गरेका वचनवद्धता र संकल्प साकार गर्न सफल बनौ। विकासविनाको स्वच्छ वातावरण होइन, विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ-सफा पृथ्वी बनाऔं। अब आउने वर्ष विगतमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिहरूको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु।

अन्धविश्वास फैलाउने र अतीततिर फर्काउने संस्कृति होइन, श्रमको सम्मान गर्ने र प्रगतिपथमा हिँडाउने संस्कृतिको निर्माण गरौं । द्वन्द मच्चाउने र बाहुवलीयतातिर धकेल्ने होइन निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाईलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस्। यसका लागि नव वर्षले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८१ साल वैशाख १ गते शनिबार।