सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस‚ २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८० को शुभकामना सन्देश

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पृथ्वीनारायण शाहले  स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा पाएका छौं ।  स-साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले विर्सन हुँदैन ।

पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नु पर्ने हुन्छ । आज पनि उतिकै लोकप्रिय र सान्दर्भिक उहाँका दिव्योपदेशहरू हामीलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेकोछ ।

अन्त्यमा, राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु  ।

जय नेपाल !

२०८० पुस २७ गते शुक्रबार ।