सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६३ औँ बुद्ध जयन्ती, २०७६ को अवसरमा व्यक्त गर्नुभएको शुभकामना सन्देश

२५६३ औँ बुद्ध जयन्ती, २०७६ को शुभकामना सन्देश

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीको पावन अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु ।
आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दीगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त हो । बुद्ध जयन्तीको यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्न चाहन्छु ।
अन्तमा, पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रगौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको पवित्र दिनमा हामी सबैमा एक आपसमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवम् विश्व शान्तिको महान अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
धन्यवाद !
२०७६ जेठ ४ गते शनिबार ।