सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्व, २०७६ का अवसरमा व्यक्त गर्नुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७६ को शुभकामना सन्देश

किराँत समुदायको महान उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै विश्व तापमान बृद्धिले जलवायु परिवर्तनमा प्रतिकूल असर पुर्‍याएर ठूलो परिमाणमा जनधनको क्षति हुने गरेको प्रसंगमा प्रकृति पूजकका रूपमा समेत सुपरिचित किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्‍न आजको दिनले थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।

किराँत समुदायले मौलिक र विशिष्टरूपमा मनाउने उभौली पर्वले नेपालीहरू बीच आपसी सद्‍भाव कायम गर्दै सामाजिक एकताको वातावरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा लिएको छु । यस्ता पर्वहरूले हाम्रो साँस्कृतिक धरोहर र सम्पदालाई समुन्नत तुल्याउँदै विविधताको सम्मान गर्ने संस्कृतिको प्रवर्द्धन र विकास गर्न सघाउँछ भन्ने मलाई लाग्दछ ।

अन्तमा, उभौली पर्वले सबै समुदायका नेपालीहरू बीच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद !

२०७६ जेठ ४ गते शनिबार ।