सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको अभियान, २०८० को अवसरमा दिनुभएको सन्देश

महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको अभियान, २०८० को शुभकामना सन्देश

महिला हिंसा निर्मूलसम्बन्धी अन्तराष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान,२०८० को अवसरमा नेपाली दिदीबहिनीहरूले भोग्नुपरिरहेका विभिन्न प्रकारका समस्याबाट मुक्तिका साथै सुख, शान्ति र समृद्धको कामना गर्दछु ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान आजबाट सुरू भएको छ । यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ ।

नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको छ तापनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुत, घरेलु महिला हिंसाजस्ता कुप्रथाका कारण अझै पनि केही महिला दिदीबहिनीहरू विविध किसिमका हिंसा. विभेद र अपमानका पीडा खप्न वाध्य हुनुहुन्छ । समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रिय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्दछ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ । त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धनात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको छ । महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर र महिला तथा पुरुषबीचको असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिला विरुद्धको हिंसा कम गर्न कठिन हुने हुनाले हाम्रो संविधानको मर्म र भावनाअनुसार महिलाहरूलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ हामी सबैलाई आजको दिनले प्रेरित गरोस् भन्ने कामना पनि गर्न चाहन्छु ।

त्यस्तै, महिलाविरुद्ध हुने हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूका साथै विभिन्न सञ्चार माध्यमहरूलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास पनि लिएको छु ।

अन्तमा, आजको यस महत्त्वपूर्ण घडीमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यवद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्दछु ।

जय नेपाल ।

२०८० साल मंसिर ९ गते‚ शनिबार ।