सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गुरुनानक जयन्तीको अवसरमा दिनुभएको सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश

सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ को जन्मजयन्ती हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमामा सिख धर्मावलम्बीहरूले भक्तिभावका साथ मनाउने गर्दछन् । उहाँले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिको विरूद्ध मानिसहरूलाई सचेत गराउन खेल्नुभएको भूमिका स्मरणीय छ ।

गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्‌भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८० साल मंसिर ११ गते सोमबार ।