सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले छठ पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०८० को शुभकामना सन्देश

छठ पर्व, २०८० को पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

सूर्य देवता र छठी माताको पूजा अर्चना यो पर्वको मुख्य विशेषता हो । यस पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा  पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ । यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले हामीबीच आपसी सद्‌भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । भेदभाव विना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।

यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‌भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वासका साथ पुनः छठ पर्व, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

२०८० साल मङ्सिर ३ गते आइतबार ।