सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले इद-उल- अज्हा (बकर इद) पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

इद-उल-अज्हा (बकर इद) पर्व, २०८० को शुभकामना सन्देश

मुस्लिम समुदायको महान् पर्व इद-उल-अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ । इस्लाम धर्मावलम्बीहरूले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्‌भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।

यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्‍भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ । हाम्रो विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने मेरो विश्वास छ ।

अन्तमा, इद-उल-अज्हा (बकर इद)  पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

जय नेपाल ।

२०८० असार १४ गते बिहीबार ।