सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा दिनुभएको सन्देश

आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको सन्देश

आज हामी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइरहेका छौँ । नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगदान अतुलनीय छ । भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ ।

आदिकवि भानुभक्तले अत्यन्त सरल र रोचक ढङ्गले  नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढङ्गले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक  एकता अभिवृद्धि भएको छ । भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्त्वपूर्ण रचना हो । यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा  बाँध्न महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन् ।

भानुजयन्तीको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु । साथै, नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्त्व बुझेर आ-आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान पनि गर्दछु ।

भानुजयन्ती मनाइरहँदा हामीले उनको जन्मस्थल चुँदीरम्घालाई पनि सम्झनु जरुरी छ । उक्त स्थललाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्दछ  ।

यस अवसरमा म आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै जन्मजयन्तीको यस अवसरले नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल ।

२०८० साल असार २९  गते शुक्रबार ।