सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१), २०२३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१), २०२३ को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१), २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू  गरिएको हो । नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो ।

हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र होइन ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि हो भन्ने प्रमाणित गर्दछ । योग शारीरिक अभ्यास मात्र नभई  निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति समेत हो । योगले तनावबाट मुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढ्ने, सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक उर्जा प्राप्त हुने मात्र होइन आत्मप्रेरणासमेत हासिल हुन्छ । योगले स्वास्थ्यकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ ।

अन्तमा, भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थामा यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले योग परम्परालाई व्यापक बनाई सबैलाई शारीरिक र मानसिक रूपमा स्वस्थ एवम् सुखी रहन प्रेरणा दिन सकोस् भनी शुभकामना व्यक्त गर्दछु  ।

जय नेपाल ।

२०८० साल असार ६ गते बुधबार ।