सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पशुपति क्षेत्रको बनकाली उद्यानको समुद्घाटन कार्यक्रममा गर्नु भएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्रीज्यू,

माननीय प्रदेशसभाका सांसदज्यूहरू

पशुपति क्षेत्र विकास कोष तथा राधा माधव सेवा समितिका पदाधिकारीज्यूहरू,

विशिष्ट व्यक्तित्वहरू,

राष्ट्रसेवक कर्मचारी तथा उपस्थित महानुभावहरू ।

पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा  व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको यस वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण हुन लागेकोमा मलाई खुसी लागेको छ ।

हालसम्म यसको व्यवस्थापन र संरक्षणका लागि म श्री राधा माधव सेवा समितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न  उत्तराधिकारवाला संस्था भएकाले यस परिसर भित्रका पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्छ भन्ने मलाई लाग्छ ।

यसै अवसरमा मन्दिर परिसरभित्रको सुरक्षा, सम्भार र विकासमा तल्लीन पशुपति क्षेत्र विकास कोषलाई यो वनकाली उद्यान हस्तान्तरण भएपछि अझ संरक्षण र विकास हुनेछ । पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ । स्वदेश तथा विदेशका तमाम हिन्दु धर्मावलम्वी तथा पर्यटकसमेत आउने यस पावन तीर्थस्थललाई  यथोचित रुपमा व्यवस्थित गर्न यस वनकाली उद्यानको विशेष महत्व रहेको छ ।

पशुपतिनाथ नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य स्थल पनि हो ।  पूजाआजा र दर्शन सकेपछि केही समय विश्रामका लागि बगैँचामा मनमोहक वातावरणमा रमाउने गरी यस उद्यानलाई अझ व्यवस्थित गर्न जरुरी छ ।

हरेक वर्ष मनाइने महान पर्वहरू शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीजलगायत विशेष अवसरमा लाखौ श्रद्धालु भक्तजनहरूको उपस्थितिलाई ध्यानमा राखेर मन्दिर परिसरमा देखिने समस्या कम गर्न थुप्रै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण हुन जरुरी छ ।

पशुपति क्षेत्रको विकासका लागि वृहद् गुरुयोजना निर्माण गरेर यस क्षेत्रको विकास अगाडि बढाउँदा स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ्ग स्थल, ईन्टरनेट, सूचना बोर्ड, तीर्थयात्रीका विभिन्न सामानको सुरक्षाजस्ता आधारभूत र अत्यावश्यक सेवालाई थप व्यवस्थित गर्न सबैको ध्यान जान जरुरी छ ।

तीर्थयात्री केवल पूजापाठ गरेर फर्कने मात्र नभई यहाँ रहेका उद्यान र प्रतिक्षालयमा रमाउने हुँदा यस उद्यानमा कपुर, तुलसी, श्रीखण्ड, जाई, रुद्राक्षलगायत धार्मिक तथा आकर्षक बोटबिरुवाबाट थप सु–सज्जित बनाउन आवश्यक छ ।

म राष्ट्रपतिमा निर्वाचित भएपश्चात पहिलो पटक आराध्यदेव पशुपतिनाथको पूजाआजामा आएको थिएँ । वनकाली क्षेत्रमै नागचम्पाको वृक्षरोपण गर्ने अवसर पाएको थिएँ । त्यस अवसरका लागि राधा माधव समिति तथा पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद दिन चाहन्छु ।

आज उद्यान हस्तान्तरणमा सरिक हुन पाउँदा मलाई खुसी लागेको छ । विशेषगरी विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथलाई धार्मिक मात्र नभएर ध्यान, ज्ञान र योगको साधनास्थलको रुपमा समेत थप व्यवस्थित गर्दै लान आवश्यक छ । केवल मन्दिर दर्शन गरेर फर्किने मात्र नभएर लामो समयसम्म यहाँ बस्ने वातावरण बनाउन सकेमा धार्मिक पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुग्नेछ । त्यसका लागि अब यस क्षेत्रमा उद्यान, योगशाला, ध्यान कक्षजस्ता संरचनाको स्थापना र विकासमा जोड दिनुपर्छ ।

अन्त्यमा, केदारनाथको  शिरका रुपमा मानिने पशुपतिनाथ क्षेत्रको सर्वाङ्गिण विकासका लागि सरोकारवाला सबैको ध्यान केन्द्रीत हुनेछ भन्ने विश्वासका साथ यस कार्यक्रम आयोजकप्रति आभार व्यक्त गर्दछु ।

धन्यवाद  ।

२०७९ चैत १६ गते