सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख,

कर्णाली प्रदेशका माननीय मन्त्रीहरू,

माननीय संघीय सांसदहरू,

माननीय कर्णाली प्रदेशका सांसदहरू,

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति,

विश्वविद्यालय सभाका सभासद्हरू,

प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू

भद्र महिला तथा सञ्जन वृन्द ।

कर्णाली प्रदेशको शैक्षिक एवं प्राज्ञिक केन्द्रका रूपमा परिचित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय  प्रशासनिक भवनको उद्‍घाटन समारोहमा सहभागी भई तपाईंहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा अत्यन्त खुसी लागेको छ । मलाई निमन्त्रणा गरी यो अवसर प्रदान गर्नुभएकोमा विश्वविद्यालय परिवारप्रति –हार्दिक धन्यवाद प्रकट गर्दछु ।

विश्वविद्यालयका उपकुलपतिद्वारा भरखरै प्रस्तुत समसामयिक वस्तुस्थिति एवम् विश्वविद्यालयको नीति तथा कार्यक्रमबाट म अत्यन्त प्रभावित भएको छु । यहाँले प्रस्तुत गर्नुभएअनुसार दक्षता, व्यावसायिकता, इमान्दारिता, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखी सामूहिक नेतृत्वमा विश्वविद्यालय सञ्चालन भइरहेकोमा सराहना गर्दछु ।

शैक्षिक उत्कृष्टता, आर्थिक वृद्घि, पाठ्यक्रम पुनर्संरचना, अन्तर्राष्ट्रिय सम्बन्ध र आदान–प्रदान एवम् पूर्वाधार विकासलाई विश्वविद्यालयको दिगो विकास र व्यवस्थापनको  मार्गनिर्देशक सिद्धान्तका रूपमा अवलम्बन गरिएकोमा पनि म मध्यपश्चिम विश्वविद्यालय र यसको नेतृत्वको प्रशंसा गर्न चाहन्छु ।

 

विश्वविद्यालयले अवलम्बन गरेका नीति तथा कार्यक्रमको सफल सञ्चालनका लागि शुभेच्छा व्यक्त गर्दै देशको समग्र उच्चशिक्षा क्षेत्रमा यस विश्वविद्यालयले अग्रणी भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

आज विश्वविद्यालयको यस महत्वपूर्ण कार्यक्रममा उपस्थित भइरहँदा हाम्रो राष्ट्रको प्राचीनता र सभ्यताका महत्वपूर्ण उपलब्धीहरूका बारेमा उल्लेख गर्नु सान्दर्भिक हुन्छ भन्ने मलाई लाग्दछ । सुर्खेत जिल्ला, समग्र कर्णाली प्रदेश र नेपालकै महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा रहेको ऐतिहासिक काँक्रेविहारले यसै क्षेत्रबाट नेपाली ऐतिहासिकताको एउटा ठोस प्रमाण दिएको छ ।  यसभन्दा अझै पुरानो समयको खोजी गर्दै जाँदा के पुष्टि हुन्छ भने प्रकृति र संस्कृतिले सम्पन्न नेपाल भूमिबाट ज्ञानको खोजी र परिशीलनमा  उल्लेख्य योगदान पुगेको छ  । नेपालमा नै उद्‍भव र विकास भएको जनक सभ्यताबाट उपनिषद्हरूको जन्म भयो । शान्तिका अग्रदूत बुद्धले विश्व शान्तिको सन्देश हाम्रै भूमिबाट फैलाए । नेपालको चिनारीलाई छिमेकी मुलुकमा अझै विस्तार गर्ने काममा अरनिको र भृकुटीका योगदानबारे हामी जानकार छौं । इतिहास, गणित र पूरातत्वमा विश्वस्तरीय योगदान गर्ने विद्वान विदुषिहरू यही भूमिले जन्माएको छ । कर्णाली क्षेत्रले नेपाली भाषाको उत्पत्ति र विकासमा गरेको अतुलनीय देनलाई हामीले आज पनि उत्तिकै गौरवका साथ सम्मान र स्मरण गर्दै आएका छौँ । इतिहास र सभ्यताको यस महान विरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयहरूले आफूलाई विशिष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नु पर्दछ ।

इतिहासको अध्ययन र त्यसबाट अभिप्रेरित हुनु एउटा पक्ष मात्र हो । मुलुकको समग्र शिक्षा प्रणालीलाई समयानुकूल बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरू क्रियाशील हुनु पर्दछ । हाम्रो सभ्यताको चेतनाले समग्र राष्ट्रलाई उठाउँदै आजको युगअनुसार नवप्रवर्तन र प्रविधिमैत्री आधुनिक शिक्षा प्रणाणीतर्फ विश्वविद्यालयहरू अग्रसर हुनु पर्दछ । पाठ्यक्रममा समयानुकूल सुधार गरी गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयहरूले जोड दिनु पर्दछ । यसका साथै विश्वविद्यालयका प्राध्यापकहरूलाई अध्ययन अध्यापन र अनुसन्धानमा उत्प्रेरित गर्न वृत्ति विकासको वातावरण निर्माण गर्नुपर्दछ ।

मुलुकका समसामयिक विषयमा विश्वविद्यालयका प्राध्यापकहरूलाई आफ्ना विषय विज्ञताका आधारमा सार्वजनिक बहस¸ छलफल तथा अन्तर्क्रियामा सहभागी गराउन र दृष्टिकोण प्रस्तुत गर्न सम्बद्ध सबैले वातावरण बनाउनु पर्दछ । विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई उच्च प्राथमिकता दिएर विश्वविद्यालय र प्राध्यापकहरूको प्रतिष्ठालाई माथि उठाउन सबैले ध्यान दिनु पर्दछ ।

हाम्रो देशमा प्रत्येक वर्ष लाखौँ विद्यार्थीहरूले विद्यालय शिक्षा पूरा गर्दछन् भने त्यसको ठूलो हिस्सा विश्वविद्यालय प्रवेश गर्दछ । तथापि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम पनि उत्तिकै छ । विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई पलायन हुनबाट रोकेर उनीहरूले आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमै सदुपयोग गर्न उपयुक्त वातावरण सिर्जना गर्नु अति आवश्यक छ । यी विषयहरूलाई मनन् गर्दै मुलुकमा शिक्षाको स्तर उठाउने कार्यमा मध्यपश्चिम विश्वविद्यालयले समग्र राष्ट्रलाई नै नेतृत्व प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गर्दछु ।

मध्यपश्चिम विश्वविद्यालयलाई सदैव अभिभावकत्व प्रदान गर्दै आर्थिक, नैतिक एवम् सामाजिक रूपमा अमूल्य सहयोग पुर्‍याउनु हुने अग्रणी व्यक्तित्व मोतीप्रसाद सापकोटालाई अभिनन्दन गर्ने अवसर जुटाएकोमा विश्वविद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु र उहाँको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत गर्दछु ।

अन्तमा, यस विश्वविद्यालयले बदलिँदो विश्वपरिवेश अनुकूल संस्थागत विकास एवम् विस्तार गर्नुका साथै गुणस्तरीय सेवाको सुनिश्चितता गर्दै राष्ट्र तथा मानव जातिको विकास र समृद्धिका लागि सुयोग्य जनशक्ति निर्माण गर्न सफल हुने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

वीरेन्द्रनगर, सुर्खेत

२०७९ पौष ८ गते शुक्रवार