सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभामा गर्नुभएको सम्बोधन

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री,

विभिन्न राजनीतिक दलका नेताहरू,

स्थानीय तहका जनप्रतिनिधिहरू,

पेशागत संघसंगठनका प्रतिनिधिहरू

सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिहरू

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जन वृन्द ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्‍घाटन समारोहमा उपस्थित भई देशभरिका पत्रकार प्रतिनिधिहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा मलाई खुसी लागेको छ । म यस महासंघको साधारणसभाको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

देशका विभिन्न भागबाट यहाँ जम्मा हुनुभएका तपाईं सबै पत्रकारहररूले आफूले भोगिरहेका पेशागत कठिनाइहरूमाथि विभिन्न आयाममा घनिभूत छलफल गर्नुहुनेछ र त्यसलाई सम्बोधन गर्ने उपाय पनि पहिल्याउनु हुनेछ भन्ने मेरो विश्वास छ । साथै, देशको विद्यमान अवस्था र पत्रकारिता क्षेत्रले खेल्नुपर्ने भूमिकाको सन्दर्भमा पनि तपाईंहरूको यथोचित ध्यान जानेछ भन्ने आशा लिएको छु ।

पत्रकारको हकहितका लागि करिब सात दशक अघि गठन भएको नेपाल पत्रकार महासंघले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको छ । पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको साथै नागरिक समाजको सशक्त अगुवा संस्थाका रूपमा पनि यसले महत्त्वपूर्ण योगदान रहेको छ । विभिन्न कालखण्डमा अनेक हण्डर ठक्कर खाँदै अघि बढेको पत्रकार महासंघले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाको निम्ति महत्वपूर्ण योगदान गरेको छ । प्रजातन्त्रमाथि सङ्कट आउँदा यो सँधै लडेको छ । लोकतन्त्र र गणतन्त्रको स्थापनामा पनि यसको ठूलो भूमिका रहेको छ ।

मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ । प्रणालीको हिसाबमा यो उच्चतम प्रणाली हो । संविधानसभाबाट बनेको संविधान छ । अक्षर र भावनाको हिसावमा यो संविधानमा खोट लगाउने कुनै ठाँउ छैन । तर, प्रणालीले राम्रोसँग काम गर्न सकेन भने जतिसुकै राम्रो व्यवस्था वा संविधान भएपनि त्यो आफैमा पूर्ण नहुन सक्दछ । त्यसलाई पूर्ण बनाउन राज्यका निकायहरुले इमान्दार प्रयास गर्नुपर्दछ । प्रेस जगतले सूक्ष्म निगरानी र खबरदारी गरिरहनु पर्दछ । पत्रकार महासंघले सबै पत्रकार र पत्रकारिता जगतलाई स्वच्छ पत्रकारिताको विकास र पत्रकारको हकहितसँगै राज्य र समाजप्रतिको दायित्वतर्फ पनि सँधै प्रेरित गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।

नेपालमा पटक पटक विभिन्न संघर्ष भएका छन् । ती संघर्ष मार्फत नेपाली जनताले आफ्नो आकांक्षा प्रकट गरेका छन् । निर्वाचनको माध्यमबाट अभिमत व्यक्त गर्दै आएका छन् । नेपाली जनताको एकमात्र चाहना मुलुकमा तीब्र विकास र समृद्धि हो । राज्यले कुनै पनि जातजाति, समुदाय, शारीरिक अवस्था, भौगोलिक अवस्थिति वा लैङ्गिक वा अन्य कुनै आधारमा कुनै पनि खालको विभेद नगरोस्, सबैलाई समान अवसर देओस् भन्ने उनीहरूको चाहना हो । नेपाली जनताले जीवनस्तरमा सुधार खोजेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सहज पहुँच चाहेका छन् । सामाजिक सुरक्षा, सामाजिक न्याय र समतामूलक विकास उनीहरूको मूल लक्ष्य हो । त्यसैले पनि उनीहरूले अनेक माध्यम र स्वरूपमा त्यो असन्तुष्टी प्रकट गरिरहेका छन् । हामी सबैले यो कुरालाई गहन रूपमा महसुस गर्नु पर्दछ । अनि जिम्मेवार निकायले आफ्नो व्यवहार, शासन शैली र सेवा प्रवाहमा सुधार गर्नुपर्दछ । मेरो विचारमा राज्यको चौथो अङ्गको रूपमा लिइने सञ्चार जगतको भूमिका यसमा अझ बढी महत्वपूर्ण हुन्छ ।

सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । छापा माध्यमका पत्रपत्रिका, रेडियो, टेलिभिजनपछि अहिले अनलाइनको प्रभाव बढ्दै गएको छ । सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको छ । डिजिटल मिडियाको प्रभाव अत्यन्तै बढिरहेको छ । प्रविधिले ल्याएको यो परिवर्तनलाई नराम्रो भन्न मिल्दैन । यो अवसर हो । तर, यसले अवसर मात्र ल्याएको छैन, चुनौती पनि थपेको छ ।

पत्रकारिताको स्वतन्त्र अभ्यास लोकतन्त्रको अपरिहार्य शर्त हो । विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्दछ । सूचनाको हक लोकतन्त्रको अर्को महत्वपूर्ण पक्ष हो । यसले सार्वजनिक निकायलाई पारदर्शी बनाउँछ । नागरिकलाई सुसूचित गराउँछ । यसको अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्दछ । सूचनाको हक र प्रेस स्वतन्त्रतालाई हाम्रो संविधानले पनि प्रत्याभूत गरेको छ । यसमाथि कहीँ कतैबाट पनि अङ्कुश लगाउने वा सङ्कुचित गर्ने प्रयास गरिनु हुँदैन । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्दछ । व्यवहारमा त्यसको अभ्यास हुने वातावरण बनाइदिनु पर्दछ ।

पत्रकार महासंघको यस महत्वपूर्ण सभामा तपाईंहरूसँग मेरो एउटा अनुरोध छ,  पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि तपाईंहरूले अलि गम्भीर चिन्तन गरिदिनुस् । सूचना प्रवाह गर्दा सत्य तथ्य हो कि होइन ? यसले समाजलाई हित गर्छ कि गर्दैन ? व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउने वा व्यक्तिगत चरित्रहत्या हुने काम भएको छ कि छैन ? पत्रकार आचारसंहिताको पालना भएको छ कि छैन ? व्यक्तिको गोपनीयताको हकको सम्मान भएको छ कि छैन ? यसले बहुलता र सामाजिक विविधतालाई आत्मसात गरेको छ कि छैन ? आवाजविहीनको आवाज बनेको छ कि छैन ? सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय सुरक्षा जस्ता विषयप्रति संवेदनशील छ कि छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन कत्तिको योगदान गरेको छ ? यसले समाजमा विकृति विसंगति हटाउन योगदान गरिरहेको छ कि विकृति अरु बढाइरहेको छ ? समग्रमा भन्दा पत्रकारिताको स्वतन्त्र र व्यावसायिक अभ्यास भैरहेको छ कि छैन ?

तपाईंहरू यो क्षेत्रको भुक्तभोगी हुनुहुन्छ । तपाईंहरूलाई समस्या थाह छ, समाधानको उपाय पनि थाहा छ । म यसमा अरु धेरै चर्चा गर्न चाहन्न । अहिलेको पत्रकारितालाई लिएर तपाईंहरू पनि पक्कै पनि चिन्तित हुनुहुन्छ र यसलाई स्वच्छ, मर्यादित र विश्वसनीय कसरी बनाउने भन्ने उपायको खोजीमा हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ ।

नेपालको पत्रकारिता र पत्रकार जगतले थुप्रै समस्याहरू भोगिरहेको छ । कतिपय विषयहरू यहाँ पनि उठिसकेका छन् । चाहे कानुन निर्माणका सन्दर्भ हुन् वा पत्रकारको रोजीरोटीका विषय, पत्रकारको सुरक्षाको कुरा होस् वा व्यावसायिक विकासका कुरा हुन्, तिनको यथोचित समाधानका लागि सम्बन्धित क्षेत्रले गम्भीर ध्यान देओस् भनेर म पनि ध्यानकर्षण गराउन चाहन्छु ।

पत्रकार महासंघको केन्द्रीय साधारण सभामा यस अघि पनि म सहभागी भएको थिएँ, यसपटक पनि सहभागी हुने अवसर मिल्यो । यसका लागि म पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्षहरू सहित तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु । नेपाल पत्रकार महासंघको साधारण सभाको पूर्ण सफलताको निम्ति फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

वीरेन्द्रनगर, सुर्खेत ।

२०७९ पौष ८ गते, शुक्रबार ।