सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको अवसरमा दिनु भएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश

मार्ग शुक्ल पञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजा सहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै यस क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु ।

अन्तमा, प्राचीन सांस्कृतिक उत्सव विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकतालाई सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न तथा सबै नेपालीहरूमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९, मंसिर १२ गते सोमबार ।