सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा दिनु भएको सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७९ को सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान,२०७९ को अवसरमा विश्‍वभर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्‍वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । यस अभियानलाई नेपालमा पनि ‘सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरूद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी  सञ्चालन गरिँदैछ ।

नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको छ । जस अनुरूप नेपालको राजनीति‚ प्रशासन र अन्य सार्वजनिक क्षेत्रहरूमा समेत महिलाहरूको सहभागितामा उल्लेख्य वृद्धि भएको छ । तथापि‚ हाम्रो समाजमा विद्यमान सामाजिक–सांस्कृतिक पछौटेपनका कारण बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी प्रथाका साथै यौन दुर्व्यवहार‚ घरेलु हिंसा‚ महिला बेचबिखन र बलात्कार र हत्या जस्ता जघन्य हिंसा आजको युगमा समेत कायम रहनु सभ्य समाजको लागि कलङ्कको विषय हो । समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्न सके मात्र महिलाविरुद्ध हुने हिंसा निर्मूल गर्न सकिन्छ ।

यस अवसरमा‚ महिलाविरुद्ध हुने हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्‍वास लिएको छु ।

अन्त्यमा‚ आजको यस महत्त्वपूर्ण घडीमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यवद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।

२०७९ मङ्सिर ९ गते‚ शुक्रबार ।