सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मुक्तिनाथ मन्दिर परिसरमा स्थापित प्रस्तर बुद्धमूर्तिको अनावरण‚ विष्णुमूर्तिको शिलान्यास तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका अवसरमा गर्नुभएको सम्बोधन

मुक्तिनाथ मन्दिरका गुरु लामा

मूर्तिकार एवं प्राज्ञ धर्मराज शाक्य

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष

गैरआवासीय नेपाली संघका अध्यक्ष एवं निवर्तमान अध्यक्ष

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल एवं पवित्र मुक्तिनाथ मन्दिर परिसरमा स्थापित भगवान बुद्धको प्रस्तर मूर्तिको अनावरण तथा भगवान विष्णुको प्रस्तर मूर्तिको शिलान्यास गर्ने यस कार्यक्रममा सहभागी हुन पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ ।

यस मन्दिर परिसरमा भगवान विष्णुको प्रतिमा शिलान्यास र भगवान बुद्धको प्रतिमा अनावरण एकैसाथ सम्पन्न गर्न पाउनुलाई मैले एक ऐतिहासिक अवसरको रूपमा लिएको छु । यसबाट हिन्दु र बौद्ध समुदायको साझा आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएको छु । हाम्रो नेपालभूमि हिन्दु र बौद्ध धार्मिक परम्परा, सभ्यता तथा आस्थाको अतुलनीय संगम रहेको ऐतिहासिक यथार्थलाई आजको कार्यक्रमले गहिरो गरी आत्मसात गरेको मैले महसुस गरेको छु । यस महत्वपूर्ण कार्यक्रमको आयोजना गर्ने यहाँहरू सबैलाई हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छु ।

मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई अझै व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने अभिप्रायले निजी लगानीमा भगवान विष्णु र भगवान बुद्धको प्रस्तर मूर्ति निर्माणको पहल गर्नु भएकोमा म गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष‚ उद्यमी एवं समाजसेवी सोनाम लामालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यसका साथै‚ उद्यमी सोनाम लामाले यही मुक्तिनाथ क्षेत्रको रानीपौवा गाउँमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को निर्माण गरी धार्मिक एवं पर्यटकीय पूर्वाधार विकासको क्षेत्रमा पुर्‍याउनु भएको योगदानका लागि समेत बधाई तथा शुभकामना दिन चाहन्छु ।

बहुसांस्कृतिक आयाम बोकेर शदिऔंको इतिहास समेटेको तथा विश्वभरिका हिन्दु र बौद्धहरूका लागि आस्थाको धरोहरको रूपमा रहेको मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिर नेपालकै एक विशिष्ट धार्मिक तथा सांस्कृतिक सम्पदा हो । नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित यस क्षेत्रको महत्वलाई हाम्रा पौराणिक ग्रन्थहरूले ठूलो सम्मानका साथ उल्लेख गरेका छन् । जीवन र मुक्तिको बाटो देखाउने यस पवित्र तीर्थस्थलले हरेक नेपालीका मनमा सुन्दरता, सभ्यता र प्राकृतिक छटाको गहिरो प्रभाव निर्माण गरेको छ ।

हिमाली जिल्ला मुस्ताङ र मनाङ नेपालका अन्य जिल्लाहरूभन्दा भौगोलिक‚ सामाजिक र सांस्कृतिक हिसाबले समेत विशिष्ट रहेका छन् । हिमालय पर्वत श्रृङ्खलाको उत्तरी भागमा अवस्थित यी जिल्लाहरूको भौगोलिक अवस्थितिका कारणबाट सृजित सामाजिक‚ सांस्कृतिक र पर्यावरणीय विशेषताहरू नै हामी सबैको लागि विशष आकर्षणको विषय बन्न पुगेको छ भन्ने मलाई लाग्दछ ।

मुस्ताङ जिल्लामा रहेका अन्य ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैयाहरू हाम्रा अमूल्य सम्पदाहरू हुन् । तिनीहरूको संरक्षण‚ सम्बर्द्धन र प्रवर्द्धनबाट प्राप्त हुने आर्थिक स्रोत र साधनलाई यस भेगका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनु आवश्यक छ  ।  गण्डकी प्रदेशको पर्यटकीय धरोहरका रूपमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर‚ उपल्लो मुस्ताङमा अवस्थित प्राचीन कला संस्कृति, प्राचीन मानव वस्तीका गुफा समेतका पर्खालले घेरेको शहर लोमान्थाङका साथै दामोदर कुण्ड, निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो ताल, तातोपानी कुण्ड लगायतका धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई संरक्षण गर्दै भावी पुस्तामा समेत यस्तै प्राकृतिक सुन्दरतासहित हस्तान्तरण गर्ने हाम्रो उद्देश्य रहनुपर्दछ । लोमान्थाङको ऐतिहासिक दरवार, गुम्वा, किल्ला र मानव वस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै अमूल्य सास्ंकृतिक सम्पदा हुन् । यसका लागि आवश्यक पूर्वाधारको विकासमा संघीय‚ प्रदेश र स्थानीय तहसमेतको समन्वयकारी पहल आवश्यक पर्दछ ।

मुस्ताङ जिल्लाको अर्को विशिष्ट परिचय मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोरला नाकाले पनि निर्माण गरेको छ । हाम्रा उत्पादनका लागि सहज बजार हुने र दुई देशका बीचमा स्थल मार्ग हुँदै व्यापार विस्तार गर्ने नयाँ सम्भावना यस नाकाले खोल्ने भएको हुँदा नाका सुचारू गर्न तथा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राख्न हामीले विशेष ध्यान दिनुपर्दछ । विभिन्न प्रकारका स्याउ, जडीबुटी एवं उच्च हिमाली क्षेत्रमा फाल्ने आलु उत्पादनमा समेत नाम कमाएको यस जिल्लाको उन्नति र प्रगतिबाट समग्र नेपालको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने मेरो विश्वास रहेको छ ।

आज जलवायु परिवर्तनको विषय विश्वव्यापी रूपमै संवेदनशील बन्न पुगेको छ । यो जिल्लालाई जलवायु अनुकुल हुने गरी विकास निर्माण तथा आर्थिक–सामाजिक गतिविधि सञ्चालन गर्न म आह्वान गर्न चाहन्छु ।

अन्तमा‚ मुक्तिनाथ मन्दिर परिसरमा स्थापित भगवान बुद्धको प्रस्तर मूर्ति र भगवान विष्णुको प्रस्तर मूर्ति निर्माणका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुका साथै यस क्षेत्रको भ्रमणमा आउने पर्यटकहरूका लागि स्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ लो मुस्ताङ हिमालयन रिसोर्ट निर्माण र सञ्चालन गर्नुहुने समाजसेवी सोनाम लामालाई पुन: धन्यवाद दिन चाहन्छु । भरखरै अनावरण गरिएको भगवान बुद्धको कलात्मक मूर्ति निर्माणमा कुशल शिल्प प्रदान गर्नु हुने प्रसिद्ध मूर्तिकार तथा प्राज्ञ श्री धर्मराज शाक्यज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ कार्तिक १८ गते शुक्रबार

मुक्तिनाथ‚ मुस्ताङ