सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सोलुखुम्बु जिल्ला, खुम्बु– पासाङल्हामु गाउँपालिका–३, फाक्दिङमा नवनिर्मित हिमालयन शेर्पा हस्पिटलको उद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

खुम्बु–पासाङल्हामु गाउँपालिकाका अध्यक्ष,

हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष,

हिमालयन शेर्पा फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जनवृन्द ।

सोलुखुम्बु जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका स्थित फाक्दिङ गाउँमा हिमालयन शेर्पा फाउण्डन्डेशनद्वारा निर्मित ‘हिमालयन शेर्पा अस्पताल’को उद्‌घाटन समारोहमा सहभागी भई यस खुम्बु क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरूसँग सात्क्षात्कार गर्ने अवसर पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित फाक्दिङ गाउँ सम्पूर्ण सगरमाथा क्षेत्रमा हिमालको अवलोकन, आरोहण, साहसिक खेल तथा विभिन्न वन्यजन्तुको अवलोकनका लागि आउने पर्यटकहरूको लागि मुख्य प्रवेशद्वारको रूपमा रहेको छ ।

इमान्दारिता, परिश्रम तथा कुशल पर्वतारोहणका कारण विश्वभरि सुपरिचित शेर्पा जातिको बाक्लो बसोबास रहेको र सगरमाथा क्षेत्रमा आउने पर्यटकहरूको सघन उपस्थिति रहने यस गाउँमा आधारभूत स्वास्थ्य सेवाको समेत अभाव रहेको सन्दर्भमा यहाँ अस्पताल स्थापना गरिनु खुसीको कुरा हो । यस अस्पतालको निर्माणबाट स्थानीय बासिन्दाका साथसाथै पर्यटकहरूलाई समेत आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने मैले अपेक्षा लिएको छु ।

अस्पताल स्थापनाको पहलका लागि हिमालयन शेर्पा फाउण्डेशनका साथै यसका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने व्यक्ति, संस्था र निकायहरूलाई समेत म हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँचलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै स्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अधिकारको प्रत्याभूति गरेको छ । यस संवैधानिक प्रावधानलाई मूर्त रूप प्रदान गर्न राज्यद्वारा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने डाक्टर, नर्स लगायत स्वास्थ्य प्राविधिकहरूको उत्पादनका साथै भौतिक एवं संस्थागत पूर्वाधारको व्यवस्था गरिनु पर्दछ । यसका लागि सरकार, सामाजिक संघसंस्था तथा निजी क्षेत्रको समेत समन्वयात्मक सहभागिताको आवश्यकता पर्दछ । यो अस्पतालको निर्माण एवं सञ्चालनको सन्दर्भमा पनि खुम्बु पासाङ ल्हामु गाउँपालिका र हिमालयन शेर्पा फाउण्डेशनको बिचमा समन्वय र सहकार्यलाई निरन्तरता दिनु पर्दछ ।

‘पर्यटकहरुको सांग्रिला’ भनेर समेत चिनिने सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, चोयु, पुमोरी, आमादब्लम, थाम्सेर्कु लगायत मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेका छन् । यस जिल्लामा अवस्थित उच्च हिमश्रृङ्खला, नदीनाला, तालतलैया, प्राणी एवं वनस्पतिका साथै विविध जातजातिका मौलिक संस्कृति संपूर्ण नेपालकै अमूल्य प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरू हुन् ।

यस क्षेत्रमा उपलब्ध जैविक विविधताका साथै प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो । यी सम्पदाहरूको दिगो उपयोगबाट प्राप्त हुने आर्थिक स्रोत र साधनलाई यस भेगका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनु आवश्यक छ  ।  

नेपाल लगायत समस्त हिन्दुकुश क्षेत्रकै पानी र हरियालीको प्रमुख स्रोतको रूपमा रहेका हाम्रा यी हिमालहरूमा जलवायु परिवर्तनका कारण दिनानुदिन हिउँको मात्रा घटिरहेको कुरा वैज्ञानिक तथ्यको आधारमा मात्र हैन हामीले हाम्रा नाङ्गो आँखाले समेत प्रष्ट रूपमा देख्न सक्दछौँ । प्रकृति प्रदत्त यी सम्पदाहरूको संरक्षणका लागि जलवायु अनुकुलनका उपायहरू अवलम्बन गर्दै हामीले विकास निर्माणका साथै अन्य गतिविधिहरू सञ्चालन गर्नु पर्दछ ।

अन्तमा, यो अस्पताल निर्माणका लागि महत्वपूर्ण योगदान गर्नुहुने हिमालयन प्रोजेक्टसका अध्यक्ष माइकल होसल लगायत सम्पूर्ण योगदानकर्ता महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु । यस क्षेत्रको विकास र प्रगतिमा स्वदेशी एवं विदेशी मित्रहरूद्वारा गरिने पहलले अझ सार्थक रूप लिंदै जाने अपेक्षा गर्दछु ।

धन्यवाद ।

२०७९ कार्तिक २० गते आइतबार ।

फाक्दिङ, सोलुखुम्बु