सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०७९ को शुभकामना सन्देश

छठ पर्व, २०७९ को पावन अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवम् भक्तिपूर्वक मनाउन थालिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्‍भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

अन्तमा‚ छठ पर्वले समाजमा विद्यमान जातीय‚ लैङ्गिक लगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण‚ समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल कात्तिक १३ गते आइतबार ।