सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (ईद उल फित्र) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (ईद उल फित्र) पर्व, २०७९ को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ । साथै‚ ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्‍वास लिएको छु ।

विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्यको रूपमा रहिआएको छ । मुलुकमा रहेका अनेकौँ जातजाति‚ भाषा‚ धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।

अन्तमा, यस पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ वैशाख २० गते मङ्गलबार ।