सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७९ का अवसरमा गर्नुभएको सम्बोधन

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति,

नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू,

आज सम्मानित तथा पुरस्कृत हुनुभएका सर्जकहरू,

कला र संगीतका साधकहरू,

सञ्चारकर्मीहरू,

उपस्थित भद्रमहिला तथा सज्जनवृन्द,

नातिकाजी स्मृति समाजले आयोजना गरेको यस ‘पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’मा सहभागी भएर मुलुकका लब्ध प्रतिष्ठित कला, साहित्य र सङ्गीतका साधक एवं विज्ञहरूसँग भेटघाट अन्तरक्रिया गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

कुनै पनि समाजको सभ्यताको स्तरलाई त्यहाँको कला, साहित्य र सङ्गीतले प्रतिविम्वित गरेको हुन्छ । यसरी नै श्रष्टाहरूको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले नै राष्ट्रको पहिचान स्थापित गर्दछ । त्यसैले, कलाकारहरू सभ्यताका बाहकहरू हुन् भने उनीहरूले गरेका सृजनाहरू राष्ट्रका अमूल्य निधि र सम्पदा हुन् ।

हामी सामाजिक आर्थिक समृद्धिको यात्रामा अग्रसर बनेको वर्तमान परिस्थितिमा सर्जकहरूले समेत आ–आफ्नो क्षेत्रबाट आमजनतालाई विकासको अभियानमा थप जागरुक र उत्साहित पार्न भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मलाई लागेको छ ।

स्वर्गीय नातिकाजी श्रेष्ठ नेपाली सङ्गीतको इतिहासमा स्वर्णीम युग स्थापना गर्ने अग्रणी सङ्गीतकार तथा गायक हुनुहुन्थ्यो । उहाँले हाम्रो सङ्गीतमा नेपाली भाव, रस र माधूर्यले भरिएका गीत–संगीतको सिर्जना गरेर नेपाली सङ्गीतको मानक स्वरूप निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपाली आधुनिक सुगम सङ्गीतको मौलिक पहिचान स्थापना गर्न जीवन अर्पण गर्नुहुने नातिकाजीका कालजयी साङ्गीतिक सृजनाहरू हाम्रो अमूल्य सम्पदाका रूपमा रहेका छन् ।

यसैगरी नातिकाजीले राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावनाले ओतप्रोत गीत सङ्गीतको सृजना गरेर मुलुकको पहिचान र स्वाभिमान अभिवृद्धिका निम्ति पुर्‍याउनु भएको योगदानलाई भुल्न सकिँदैन । यसरी नातिकाजी सहितका अग्रज सङ्गीत श्रष्टाहरूले नेपाली सङ्गीतमा विकास गरेको मौलिकताको विस्तार, संरक्षण र संवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो ।

नेपाली गीत सङ्गीतको उन्नयनमा स्वर्गीय नातिकाजीले पुर्‍याउनु भएको योगदानलाई चीरस्थायी तुल्याउने उद्देश्यका साथ स्थापित नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा समर्पित स्रष्टाहरूलाई हरेक साल सम्मानित र पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको छ । यसबाट नेपालका विविध भाषाभाषीका गीत–सङ्गीतको उत्थान र नवप्रतिभाहरूलाई गीत–सङ्गीतको क्षेत्रमा समर्पित भई निरन्तर रूपमा साधनारत रहन प्रेरणा मिल्नेछ भने पुराना र नयाँ पुस्ताका सङ्गीत सर्जकहरूलाई आपसमा जोड्न सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।

नेपाली सङ्गीतको विकास र संवर्द्धनमा राज्य, निजी क्षेत्र र श्रष्टाहरूद्वारा व्यक्तिगत रूपमा भए गरिएका प्रयत्नको फलस्वरूप नै नेपाली सङ्गीतले आजको स्वरूप हासिल गरेको हो भन्ने मलाई लागेको छ । यसका साथै नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि देशमा राष्ट्रिय अर्केष्ट्रा अर्थात् नेपाली बाजाहरूको वाद्यवृन्दको विकास गरिनुपर्ने आवश्यकताको ’boutमा अग्रज स्रष्टाहरूले दशकौँ अघिदेखि कुरा उठाउँदै आउनुभएको कुरा यहाँ म स्मरण गर्न चाहन्छु । हाम्रा अग्रज श्रष्टाहरूको अधुरो सपनालाई साकार बनाउँदै राष्ट्रको साङ्गीतिक पहिचानका लागि नेपाली अर्केष्ट्राको विकास गर्न आवश्यक नीति कार्यक्रम र आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ अग्रसर हुन म सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।

आजको यस समारोहमा सम्मानित एवं पुरस्कृत हुनुहुने विशिष्ट सर्जकहरूमा हार्दिक बधाईसहित सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु । आगामी दिनमा उहाँहरूलाई आफ्नो कर्मक्षेत्रमा थप उत्साह र जाँगरका साथ मौलिक नेपाली गीत–सङ्गीतको सिर्जनामा निरन्तर रूपमा लागिरहन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

अन्तमा, विशिष्ट श्रष्टा एवं साधकहरूलाई सम्मानित र पुरस्कृत गर्ने यस प्रकारको रचनात्मक कार्यको लागि नातिकाजी स्मृति समाजलाई धन्यवाद दिँदै सम्पूर्ण नेपाली संगीत जगतको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ वैशाख १९ गते, सोमबार ।

राष्ट्रपतिको कार्यालय