सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सातौं भूकम्प स्मृति दिवसको अवसरमा दिनु भएको सन्देश

सातौं भूकम्प स्मृति दिवसको सन्देश

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा‚ सरकारी तथा सार्वजनिक भवन‚ शैक्षिक र स्वास्थ्य संस्थाका भवन‚ निजी आवास‚ सडक र पुल लगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ । बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको छ । यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा पुनर्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू¸ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू र स्वयंसेवकहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरू मध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुको मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भएता पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यत्तिकै जिम्मेवार रहेको छ । तसर्थ‚ विगतको भोगाई र अनुभवबाट पाठ सिक्दै आउँदा दिनहरूमा भूकम्प जस्ता प्राकृतिक विपद्‌बाट हुने क्षतिलाई न्यूनीकरण गर्न भूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अति आवश्यक छ । यसका साथै, विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्को समयमा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूका बारेमा समेत समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनु पर्दछ । यस कार्यका लागि संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको छ । यस विषयमा म सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

अन्तमा, सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ वैशाख १२ गते सोमबार