सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकको उद्योग‚ कृषि‚ निर्माण र सेवा लगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।

विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यवद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइन्छ । यस दिवसले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नेछ भन्ने अपेक्षा गरेको छु ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो ।

जनताको आकांक्षा बमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । यसका लागि कृषि‚ वन‚ पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकास गर्दै रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसरको सिर्जना गर्नु पर्दछ । आप्रवासी श्रमिकको मानवअधिकार रक्षा गर्न सम्बद्ध निकाय र क्षेत्रहरूले निरन्तर पहल जारी राख्नुपर्दछ ।  उद्यमशीलता विकासका लागि पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक छ ।

अन्तमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसले मर्यादित श्रम, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ वैशाख १८ गते आइतबार ।