सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरुको महान चाडका अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ-२०७३ का सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।

अनेकतामा एकता र सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीका प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । विभिन्न जात-जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् ।

साथै, हाल मनाइरहेको महान पर्व वडादशैं तथा विजयादशमीले हिमाल-पहाड-तराई-मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्‌भाव एवम् क्षेत्र-क्षेत्र, जातजाति र समुदाय-समुदायबीच आपसी भातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्दछु ।

अन्तमा, नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलव्धिहरुको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सकौं ! शक्तिस्वरुपा दुर्गा भवानीले हामी सबैलाई सकारात्मक सोच राखी सत्‌विचार र सत्व्यवहारमा अग्रसर हुन आशीष दिउन् भन्दै वडादशैं, २०७३ को हार्दिक मंमलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७३ असोज २५ गते मंगलबार ।