सम्माननीय राष्ट्रपतिज्यूबाट टीका प्रसाद र जमरा ग्रहण एवम् प्रदान

आज मिति २०७३ साल असोज २५ गते मंगलबारका दिन विजया दशमीको पावन अवसरमा बिहान ८:४५ को शुभसाइतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‌आफ्ना काका श्री खगेन्द्र पाण्डेबाट टीका प्रसाद एवम् जमरा ग्रहण गर्नुभयो । यस अगाडि सम्माननीय राष्ट्रपतिज्यूलाई हनुमानढोका दरबार दशैंघरका मूल पूजारी श्री देवराज अर्याल र राष्ट्रपतिको कार्यालयमा दुर्गा स्थापना गर्ने पण्डित
श्री खेमचन्द्र ढकालबाट अभिषेक भएको थियो ।

विजया दशमीको अवसरमा सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीज्यू, पूर्व प्रधानमन्त्री एवम् विपक्षी दलका नेता माननीय के.पी.शर्मा ओलीज्यू, माननीय न्यायाधीशज्यूहरु, माननीय सभासदज्यूहरु, संवैधानिक निकायका पदाधिकारीज्यूहरु, विश्वविद्यालयका उपकुलपतिज्यूहरु, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरुज्यूहरु,  उद्यमी, व्यवसायीज्यूहरु, सुरक्षा निकायका प्रमुख  तथा पदाधिकारीहरुज्यूहरु, सञ्चार कर्मीज्यूहरु एवम् नागरिक समाज अगुवा लगायतलाई टीका तथा जमरा प्रदान गर्नुभएको थियो ।

सम्माननीय राष्ट्रपतिज्यूबाट शारिरीक अपाङ्गता भएका दृष्टिविहीन श्री रत्नबहादुर खरेललाई विजयादशमीको अवसरमा ह्विल चेयर प्रदान गर्नुभएको थियो ।

साथै उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट विजयादशमीको टीका ग्रहण गर्न राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरु तथा आम नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

(हरिप्रसाद दवाडी)

उपसचिव