सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

अभिनन्दित ज्येष्ठ नागरिकहरू,

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति सहित कोष परिवाार,

कविता प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरू,  

उपस्थित भद्रमहिला तथा सज्जनवृन्द !

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु तथा मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । 

यस अवसरमा, ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान, सीप र अनुभवलाई उच्च मूल्याङ्कन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजको उत्थान र मुलुकको विकासमा सदुपयोग गर्न सम्बद्ध सबैमा आग्रह गर्दछु । 

यस दिवसको सन्दर्भ पारेर जेष्ठ नागरिकहरूको विषयमा बालबालिकाबीच सम्पन्न कविता प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण, सक्रिय ज्येष्ठ नागरिकहरूको अभिनन्दन तथा ज्येष्ठ नागरिकको अधिकारका क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गरिनु खुसीको विषय हो । यसका लागि सम्बद्ध सबैलाई म हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छु । 

आफ्नो जीवनको महत्वपूर्ण समय परिवारको हेरचाह र पालनपोषणका साथै देश सेवामा समर्पण गर्ने ज्येष्ठ नागरिकहरू हाम्रा अभिभावक र ज्ञान तथा अनुभवका अजस्र स्रोत हुनुहुन्छ । तथापि नयाँ र पुरानो पुस्ता बीच पर्याप्त संवादको अभावका कारण आजभोलि परिवार र समाजमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न हुने गरेका छन् । जसको कारण कतिपय ज्येष्ठ नागरिकहरूले अवहेलना र दुव्र्यवहार व्यहोर्न बाध्य हुनु परेको छ । यो कुरा हाम्रो मौलिक सांस्कृतिक परम्परा, पारिवारिक मूल्य, मान्यता र आदर्श विपरित छ । ज्येष्ठ नागरिकहरूलाई आघात् पु¥याउने यस प्रकारका प्रवृत्तिहरूलाई निरुत्साहित गरी सभ्य समाजको निर्माणमा क्रियाशील हुन सबैमा आव्हान गर्दछु । 

यस प्रकारका रचनात्मक कार्यमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषजस्ता संघ संस्थाहरूले विशेष भूमिका निर्वाह गर्न सक्दछन् भन्ने मलाई लागेको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक क्षेत्रका विभिन्न सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्था गरेको छ । यी कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयनको माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनमा सीमित भए पनि सहयोग पुग्ने मैले विश्वास लिएको छु । 

अन्तमा, अनुभव र प्रेरणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूलाई आदर, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित पुनः म सम्मानित ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछु । 

धन्यवाद ।

२०७८ पुस ११ गते आइतबार ।

राष्ट्रपतिको कार्यालय, महाराजगन्ज, काठमाडौँ ।