सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तमु ल्होसार पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश

गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ । यस समुदायले आज पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ । मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ ।

नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य छ । तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।

अन्तमा‚ गुरुङ समुदायको यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ पुस १५ गते बिहीबार ।