सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय ख्रीष्टियन महासंघ‚ नेपालद्वारा आयोजित ख्रीष्टमस महोत्सव २०७८ मा गर्नुहुने सम्बोधन

माननीय युवा तथा खेलकुद मन्त्री‚

राष्ट्रिय ख्रीष्टियन महासंघ‚ नेपालका अध्यक्ष लगायत महासंघ परिवार,

भद्रमहिला तथा सज्जनवृन्द !

इसाई धर्मावलम्बीहरूको महान चाडको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा म सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

हाम्रो मुलुक सांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण छ । विविधता हाम्रो कमजोरी होइन, बरु यो हाम्रो शक्ति हो । यही नै हाम्रो मौलिक राष्ट्रिय पहिचान पनि हो । विविधता बीचको एकता र सद्भावको यो गौरवपूर्ण परम्परालाई हामीले अक्षुण्ण राख्नु पर्दछ ।

आ–आफ्ना फरक आस्था र विश्वास बोकेका भएता पनि हामी सबै नेपाली हौँ । फरक आस्थाको कारणबाट आफ्नो देशप्रतिको माया र नागरिक दायित्वबोधमा कुनै तलमाथि हुन सक्दैन, रहेको पनि छैन ।

यस समुदायले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट मुलुकको विकास र समाजको अग्रगतिका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा धन्यवाद दिन चाहन्छु । हामीले आ–आफ्ना आस्था, विश्वास र पहिचानलाई कायम राख्दै आम जनताको जीवनस्तरलाई माथि उठाउँन सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनु पर्दछ ।

फरक आस्था र विश्वास बोकेका आफ्ना नागरिकप्रति राज्यका तर्फबाट समभाव र समव्यवहार गरिनु पर्दछ । हामी आफ्नो हात आफूलाई मन लागेजति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नु हुँदैन भन्ने कुरामा हामी सबैले विचार पुर्‍याउँनु पर्दछ ।

हाम्रो देशमा मनाइने विभिन्न धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरूले सम्पूर्ण नेपाली जनतामा आपसी सद्भाव‚ सहिष्णुता र एकताको भावनालाई सबल बनाउँदै र बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउनमा योगदान गर्नेछ भन्ने विश्वास लिएको छु । साथै ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न यस पर्वले सबैलाई उर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

अन्तमा‚ यस महोत्सवमा सहभागी हुने अवसर दिनुभएकोमा आयोजक समितिलाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्दछु ।

धन्यवाद ।

२०७८ साल पौष १० गते, शनिबार

 

नेपाल प्रज्ञा प्रतिष्ठान‚ कमलादी ।