सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किराँत धर्म र संस्कृतिको पहिचान‚ संरक्षण र संवर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि समेत खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी नेपालका जिल्लाहरूमा विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

अन्तमा, फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवम्  समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा प्राप्त होस् भनी शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ साल कात्तिक २५ गते बिहीबार ।