सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०७८ को शुभकामना सन्देश

छठ पर्व, २०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मूलतः नेपालको तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गरी मनाइन्छ । विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास रहेको छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्‍भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

अन्तमा, प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिहरूलाई अन्त्य गर्दै समतामुलक एवं सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा सहित पुनः छठ पर्व, २०७८ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ साल कात्तिक २४ गते बुधबार ।