सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय जनगणना २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय जनगणना २०७८ को सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

हरेक दस वर्षमा सञ्चालन गरिने जनगणनाको १२औँ श्रृङ्खला राष्ट्रिय जनगणना २०७८ शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दछु ।

आजदेखि सुरु भई आगामी मङ्सीर ९ गतेसम्म सबै नेपालीहरूको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्ने प्रयोजनका लागि केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणकहरू खटाएको छ ।

सबै नागरिकको पारिवारिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन, प्रशोधन एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो । जनगणनामार्फत् उपलब्ध हुने तथ्याङ्क मुलुकको विकास निर्माणसम्बन्धी नीति‚ योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सूचनाको स्रोत हुनुका साथै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार रहिआएको छ । त्यसैले, राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेकी तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्दछ ।

ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीको लागि समेत लामो समय लाग्ने भएकाले जनगणनालाई महत्त्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमको रूपमा सफल तुल्याउनु पर्दछ ।

नेपालमा वि.सं. १९६८ देखि जनगणना गरिने कार्यको थालनी भएको हो । एक शताब्दी लामो इतिहास पूरा गरिसकेको जनगणनाका पछिल्ला नतिजाहरू प्रकाशनका रूपमा पनि उपलब्ध छन् । जनगणनाबाट प्राप्त तथ्यलाई नै मुलुकका बारेमा आधिकारिक जानकारीको स्रोत समेत मानिने हुनाले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवं सम्बद्ध सबैमा आव्हान गर्दछु ।

अन्त्यमा, राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रिय तथ्याङ्क विभागको सक्रियतामा सुरु हुन लागेको राष्ट्रिय जनगणना २०७८ को सफलताको पुनः शुभकामना व्यक्त गर्दछु  ।

धन्यवाद ।

२०७८ साल कात्तिक २५ गते बिहीबार