सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छैठौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

वि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनु हुने दाजुभाइ तथा दिदीबहिनीहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

विनाशकारी भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऎतिहासिक धरहरालाई भत्काएको भएता पनि हाम्रो राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न सकेन । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण गर्ने र प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई लगभग अन्तिम चरणमा पुर्‍याएको छ । हालसम्म लाखौँको संख्यामा निजी आवास तथा हजारौँको संख्यामा विद्यालयहरूको पुनर्निर्माण भैसकेको छ भने केही निर्माणाधीन रहेका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका रानीपोखरी‚ दरबार हाइस्कूल‚ दशरथ रंगशाला, धरहरा लगायतका ऎतिहासिक‚ सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाहरूको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय हो । यस क्रममा धेरै सरकारी भवन‚ मठ‚ मन्दिर‚ गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भैरहेको छ ।

पुनर्निर्मित भौतिक संरचनाहरूमा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको छ । अब बन्ने संरचनाहरूमा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्दछ भन्ने कुरामा सचेष्ट रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षण गर्न चाहन्छु । यस अवसरमा म पुनर्निर्माण कार्यमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

हाम्रो देशको भौगोलिक अवस्थिति र बनावटका कारण हामी भूकम्प, बाढी‚ पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छौं । यस संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गर्नु पर्दछ । भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास¸ सार्वजनिक तथा सरकारी संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।

सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन पनि म सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछु ।

अन्तमा‚ २०७२ सालको भूकम्पपछिको उद्धार‚ राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाईले भविष्यमा विपद्‍बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्दछु ।

धन्यवाद ।

मितिः २०७८ साल वैशाख १२ गते आइतबार ।