सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २६२०औँ महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

जैन धर्मका प्रवर्तक महावीरको २६२०औँ जन्मजयन्तीका अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अहिंसा, त्याग एवं तपस्याको सन्देश दिनुहुने जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्द्धमान महावीरको जन्म ५९९ ईसा पूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभरि छरिएर रहेका जैन धर्मावलम्बीले भव्य रूपमा महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिख लगायत ओमकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग – अहिंसा‚ सत्य‚ अचौर्य (चोरी नगर्ने)‚ ब्रह्मचर्य र अपरिग्रह (सङ्ग्रह नगर्ने) देखाउनु भएको छ । उहाँले अहिंसा नै मानवको साँचो धर्म हो भन्ने आदर्शमाथि जोड दिनुहुँदै सानोभन्दा सानो जीवको समेत हत्या गर्नु हुँदैन भन्ने सन्देश दिनुभएको छ । यसबाट परिवार‚ समाज‚ राष्ट्र र विश्वमा नै द्वन्द्व र विग्रहको अन्त्य गरी शान्ति स्थापनामा मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्‍वास लिएको छु ।

धार्मिक‚ सांस्कृतिक‚ भाषिक एवं भौगोलिक विविधतायुक्त इन्द्रेणी रूपी नेपाली समाजमा यस्ता पर्वहरूले आपसी सद्‍भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दै वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान पुर्‍याउने छन् भन्ने कुरामा म विस्वस्त छु ।

अन्तमा‚ सामाजिक न्यायमा आधारित सभ्य र समृद्ध समाज निर्माणको बाटोमा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ साल वैसाख १२ गते आइतबार ।