सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेन जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने फाल्गुनन्द जयन्तीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा विभिन्‍न कार्यक्रम आयोजना गरी हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्को रूपमा पनि लिन सकिन्छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड ‍दिनुहुने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु ।

अन्तमा, फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगतिहरूलाई हटाउँदै प्रगतिशील‚ सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्‍ने कामना गर्दछु ।

२०७७ कात्तिक २५ गते मङ्‌गलबार ।