सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७७” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 “तिहार पर्व, २०७७” को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड तिहार, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

काग तिहारको दिनबाट सुरू भएर क्रमश: कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, ‍गोरु तिहार एवं गोवर्द्धन पूजा र भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्‍चक पनि भनिन्छ । तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी, धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउँदछ । यसरी नै देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँदछ ।

पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो ।  उज्यालोलाई आफैमा प्रेरणाको विम्ब मानिन्छ । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।

यस वर्षका सबैजसो चाडपर्वहरू नोबल कोरोनाभाइरस (कोभिड-१९)को महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत सुरक्षालाई मध्यनजर गर्दै मनाउनुपरेको छ ।  यस महामारीको खोप हालसम्म विकास भैनसकेकाले पूर्व सावधानीका लागि समय-समयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरू बीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन । चाड पर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्व सावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।

अन्तमा, तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्‍वासका साथ पुन: तिहार पर्व, २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ साल मङ्‌सिर १ गते, सोमबार ।