सम्माननीय राष्ट्रपतिज्यूबाट शुभकामना आदान प्रदान कार्यक्रम

आज मिति २०७५ साल कात्तिक २१ गते बुधबारका दिन नेपालीहरुको महान पर्व बडा दशैंको लगतै परेका तिहार, नेपाल सम्वत्, ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूको निमन्त्रणामा राष्ट्रपति भवन, शीतलनिवासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्‍न भयो । सम्माननीय राष्ट्रपतिज्यूले कार्यक्रमलाई संबोधन गर्नुहुँदै मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न राजनीतिक दलहरुले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरु एकजुट हुनुपर्ने कुरा औंल्याउनु भयो । सम्माननीय राष्ट्रपतिज्यूले आर्थिक विकासको अभियानलाई तीब्रता दिन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरुलाई सदाझैँ सक्दो सहयोग रहने कुरा बताउनु भयो  ।

सो अवसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री एवम् नेकपा का अध्यक्ष श्री केपी शर्मा ओलीज्यू, विपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवाज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, पूर्व सभामुखज्यूहरु लगायत नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका प्रमुख नेताहरुको उपस्थिति थियो ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता