सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सम्वत् ११३९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल सम्वत् ११३९ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्न योगदान दिनेछ भन्ने मैले आशा लिएको छु ।

यस नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्‍ने शुभकामना प्रकट गर्दछु ।

धन्यबाद !

२०७५ साल कार्तिक २२ गते बिहीबार ।